
काठमाडौँ– नेकपा एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलन गर्दै समाजवादीले सुशासन र रोजगारी समाजवादको तयारीका लागि भन्दै पहिलो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो।
जसअनुसार चैत २ देखि ६ गतेसम्म मातहत कमिटीमा छलफल गर्ने र चैत ७ देखि १५ गतेसम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघसंगठन तथा व्यक्तिहरुसँग संवाद तथा सुझाव संकलन गर्ने नेकपा एकीकृत समाजवादीमा महासचिव एवम् केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भूसालले जानकारी दिए।
आन्दोलनका कार्यक्रमअन्तर्गत चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने, चैत मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन गर्ने र वैशाख २२ गतेसम्म प्रदेश र स्थानीय पालिकामा ज्ञापनपत्र पेस गर्नेलगायतका रहेको उनले बताए। पहिलो चरणको आन्दोलन सकिएपछि वैशाख २५ गते दोस्रो चरणको दबाबमूलक कार्यक्रम सार्वजनिक गर्ने समाजवादीले जनाएको छ।
महासचिव भुसालले राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोडघटाउबाट मुक्त गर्न पार्टीले आन्दोलन सुरु गरेको जानकारी दिए। आन्दोलनले राष्ट्रका लागि आजको एजेन्डा स्थापित गर्ने र मुलुकको राजनीतिलाई नयाँ दिशा दिने उनले दाबी गरे।
महासचिव भुसालले अहिले सरकारी प्रशासन, न्यायिक क्षेत्र र राजनीतिमा भ्रष्टाचार व्याप्त रहेको आरोप लगाए। उनले सत्ताधारीहरू नालायक र अनुत्तरदायी भएका कारण सडक अराजक र पपुलिस्ट हुँदै गएको भन्दै यस अवस्थामा देशका जिम्मेवार राजनीतिक पार्टी र नागरिक समुदायले गम्भीर आत्मसमीक्षा गर्दै एउटा नयाँ पहलकदमीद्वारा हस्तक्षेप गर्नुपर्ने बताए।
भुसालले अहिलेसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न संवैधानिक तथा कानुनी प्रबन्धका साथ एउटा शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने माग रहेको जानकारी दिए। उनलेसंविधान संशोधनको मुद्दा उठाएर जानीजानी मुलुकलाई डरलाग्दो अन्योलमा धकेल्ने प्रयास भएको जिकिर गरे।
संविधान कार्यान्वयनका १० वर्षको पुनरवलोकन गरेरमात्रै संशोधनको छलफल गर्नुपर्ने भुसालको भनाइ छ। समाजवादीले रोजगारी र सुशासनका लागि सरकारले यथाशीघ्र राष्ट्रिय सम्मेलन आह्वान गर्नुपर्नेमा समेत जोड दिएको छ।