
इटहरी- कोशी प्रदेशमा ‘अबको युद्व दुर्व्यसनविरूद्ध’ कार्यक्रम सुरु भएको छ। आज (बुधबार) इटहरीमा आयोजित एक कार्यक्रमबीच ‘अबको युद्व दुर्व्यसनविरुद्ध’ सुरु भएको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख, डीआईजी राजन अधिकारीका अनुसार लागूऔषध प्रयोगको बढ्दो समस्यालाई निर्मुल पार्नका निम्ति ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स’ अभियानको सुरु गरिएको हो।
अभियानमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अहिले लागूऔषध प्रयोगकर्ताको सञ्जाल बढिरहेकाले यसलाई निर्मूल पार्नुपर्ने उल्लेख गरे।
‘पहिले–पहिले धरान र पोखरामा धेरै दुर्व्यसन भएको सुन्ने गर्दथ्यौँ,’ कार्कीले भने, ‘अहिले तराईका सबै जिल्लामा लागूऔषधको भयावह अवस्था छ। विस्तारै यो हिमाली भेगतर्फ सरिरहेको छ । यसलाई निर्मूल पार्न म विद्यार्थी साथीहरूसहित सबैलाई आग्रह गर्दछु।’
मुख्यमन्त्री कार्कीले दुर्व्यसनीलाई रोकथामका लागि सबै क्षेत्रका मानिसहरू एकजुट हुनुपर्ने बताए। कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, डीआईजी अधिकारी, इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेललगायतले बोल्दै दुर्व्यसनलाई निर्मूल पार्न विद्यालय तहदेखि नै सचेतना फैलाउन आवश्यक रहेको बताएका थिए।
लागूऔषध दुर्व्यसनले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले यसलाई नियन्त्रणमा लिनका निम्ति ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने सन्देशसहित कोशी प्रदेश प्रहरी कार्यलयले अभियान सुरु गरेको हो।
खासगरी कोशी प्रदेशका हरेकजसो विद्यालयमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्य लिइएको छ।
२०७५ साल माघ १४ गते सुनसरीमा जिल्ला प्रहरी कार्यालयले ‘शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि’ समुदाय प्रहरी साझेदारी अन्तर्गत ‘दुर्व्यसनविरुद्ध ‘फ्यान’ अभियानको अवधारणा लागू गरेको थियो।
अभियानको प्रारम्भिक चरणमा सुनसरी जिल्लाका १८ वटा माध्यमिक विद्यालयहरूलाई समावेश गरिएकोमा हालसम्म ७० वटा भन्दा बढी विद्यालयमा विस्तार भएको प्रहरीको भनाइ छ।