
काठमाडौँ- गएको फागुन २५ मा राजावादीहरूको प्रदर्शनमा विदेशी नेताको तस्बिर देखिएपछि चर्चा चुलिएको छ।
पूर्वराजा पोखराबाट काठमाडौँ फर्किँदा स्वागत गर्ने कार्यक्रममा भारतीय जनता पार्टीका नेता योगी आदित्यनाथको तस्बिरसहित एक व्यक्ति प्रदर्शनमा उपस्थित भएका थिए। प्रदीपविक्रम राना नामको ब्यानर रहेको सोही तस्बिरका कारण राजावादी आन्दोलनमा विदेशीहरूको हात रहेको विपक्षीहरूको आरोप छ।
यता प्रदर्शनकर्ता राप्रपाका नेता एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले भने हालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका सल्लाहकार विष्णु रिमालले प्रदर्शन भाँड्न सोही तस्बिर प्रयोग गरिदिएको आरोप लगाउँदै आएका छन्। यही विषयमा रिमाल र शाही सामाजिक सन्जालमा बकयुद्ध गरिरहेका छन्।
पछिल्लो समय भने शाहीले एमालेबाट निर्वाचित राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे र आदित्यनाथको तस्बिर बोक्ने प्रदीप विक्रम राणाको तस्बिर सार्वजनिक गर्दै रिमाल र ओलीले कार्यक्रम विथोलेको आरोप लगाएका छन्।
उनले सार्वजनिक गरेको तस्बिरमा राणाले घिमिरेलाई राष्ट्रियसभामा निर्वाचित हुँदा बधाइ दिएका छन् भने घिमिरेसँग एकसाथ तस्बिरमा देखिएका छन्।
शाहीले भनेका छन्,’त्यसैले भन्छु सम्माननीय प्रधानमन्त्री ज्युका राजनीतिक सल्लाहकार विष्णु रिमालज्यू राष्ट्रिय झण्डासहितको देशभक्त कार्यक्रमलाई बिथोल्न र आरोप लगाउन यस्ता अनैतिक गतिविधि तत्काल बन्द गर्नुहोस्।’ शाहीले प्रधानमन्त्रीलाई भनेका छन्,’प्रधानमन्त्रीज्यू यो २०३२साल होइन तपाईँहरूले जनतालाई जे भ्रम छर्यो त्यो पत्याउनुपर्ने।’ यो २०८१ साल रहेको र तथ्य नलुक्ने बताएका छन्।