
काठमाडौँ- प्रमुख राजनीतिक दलहरू राजावादीको गतिविधिविरुद्ध एकजुट भएर अघि बढ्ने प्रतिबद्ध भएका छन्। संसद्को मंगलबारको बैठकमा सम्बोधन गर्दै नेताहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रभित्र आफ्नो ठाउँ खोज्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिए। उनले राजावादीको चहलपहलको पछाडि देशभित्र र बाहिरका संगठित चलखेल देखिएको बताए।
प्रचण्डले संसारका विभिन्न देशमा तानाशाही राजाहरुको अन्त्य कसरी भएको छ भन्ने बिर्सिएर नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको मौलिकतालाई कम नआँक्न चेतावनी दिए।
प्रचण्डले भने, ‘जुनसुकै राजनीतिक दल समर्थक भए पनि गणतन्त्र प्राप्तिको संघर्ष र क्रान्तिका सबै महान् सहिदहरुको सपनाको जिम्मा लिन म तयार छु। तपाइँहरुले अहिलकति आत्मसमीक्षा गरिदिनुभयो र संसदभित्रै विकल्प हुनसक्छ भन्ने मान्यतातिर अगाडि बढिदिनुभयो भने त्यो धेरै ठूलो कुरा हुनेछ। त्यसो हुन सकेन भने पनि बाह्रबुँदे समझदारीदेखि विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र, जनयुद्ध र जनआन्दोलनका ती हजारौँ सहिदहरूको सपना बोकेर हिँड्न हाम्रो पार्टी र म तयार छौँँ।’
उनले नेपाली कांग्रेस र नेकपा एमालेभित्र इमान्दार, देशभक्त र लोकतान्त्रिकवादीहरु प्रतिगमनको पक्षमा कोही पनि नरहेको बताए।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको परिवर्तनविरुद्धको आक्रमण कुनै पनि हालतमा स्वीकार्य नभएको भन्दै संविधानविपरीत हुने कुनै पनि षडयन्त्रविरुद्ध सबै दल एक भएर अघि बढ्नुपर्ने बताए।
महामन्त्री थापाले विभिन्न कारणले जनता आक्रोशित भएको भन्दै एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए। उनले संसद्भित्र र बाहिर सभ्य रूपमा प्रतिस्पर्धा गरी अहिलेको व्यवस्थालाई जोगाउनुपर्ने बताए।
एमालेका नेता गोकर्ण विष्टले राजतन्त्रलाई जनताले अस्वीकार गरिसकेकाले अहिलेको राजावादीको आन्दोलन मृगतृष्णाबाहेक केही नरहेको बताए। उनले लोकतन्त्रको विकल्प समृद्ध लोकतन्त्र नै हुन सक्ने बताए। उनले भने, ‘हामीले जनतालाई सार्वभौम बनाएका छौँ। जनताले आत्मसम्मान प्राप्त गरेका छन्।’ उनले कतिपयले पूर्वराजालाई फर्काउने प्रयास गरेको र पूर्वराजाले पनि फेरि राजा बन्न प्रयास गरिरहे पनि त्यसलाई सफल बन्न नदिने बताए।