
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृढ बनाउन सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
अन्तर व्यवस्थापिका मञ्च, नेपालको पोखरा घोषणापत्र हस्तान्तरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘संघीयता, सुशासन, पारदर्शिता र विधिको शासनलाई सुदृढ बनाउन सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका अझ प्रभावकारी बनाउने दायित्व अहिले तपाईंहरुको काँधमा रहेको छ।’
राष्ट्रपति पौडेलले कतिपय महत्त्वपूर्ण कानुन बन्न नसकेको र संसदमा जनताका जल्दाबल्दा समस्यामा छलफल हुनुपर्ने जति हुन नसकेको भनेर गुनासो आइरहेको सन्दर्भमा जनताको आवाज मुखरित हुने थलोका रूपमा विकसित गर्न अग्रसरता र तत्परताको आवश्यक रहेको बताए। उनले भने, ‘संसदीय अभ्यासबाट सिक्ने अवसरलाई आत्मसात् गर्दै आगामी दिनमा पनि सक्षम, जवाफदेही र जनउत्तरदायी संसद् निर्माण गर्न तपाईंहरूबाट अतिरिक्त तत्परताको अपेक्षा लिएको छु।’
राष्ट्रपति पौडेलले संसद्ले प्रभावकारी कानुन निर्माण, बजेट निर्माण, नीति निर्धारण र जनताका आवाज बुलन्द बनाउने थलोका रूपमा आफूलाई उभ्याउनुपर्ने स्पष्ट पारे। सभाहरूले समावेशी, दीर्घकालीन र विकासमैत्री कानुनी संरचना निर्माण गर्न तथा र प्रभावकारी संसदीय निगरानीको प्रक्रिया अपनाउनुपर्ने राष्ट्रपति पौडेलको धारणा थियो।
उनले भने, ‘कानुन निर्माण तथा संसदीय कार्यहरूमा पारदर्शिता लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो। अतः संसद्को भूमिकालाई अझै मजबुत बनाउँदै संघीयताको सफल कार्यान्वयनका लागि तपाईंहरूबीच सहकार्य अपेक्षित छ।’