
काठमाडाैँ- आजका कविताहरू कस्ता लेखिन्छन्? यो विषयमा विभिन्न कार्यक्रम तथा छलफलमा बहस भइरहन्छ। टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करणको ‘आजका कविता’ सेसनमा पनि कविद्वय श्यामल र विप्लव प्रतीकले यसबारे विमर्श गरे। कार्यक्रम कवि प्रज्ववल अधिकारीले सहजीकरण गरेका थिए।
कवि श्यामलले आजका कविता वर्तमानका मानिसहरूका चिन्ता, संघर्ष मनोभावना व्यक्त गर्ने चिज भएको औंल्याए। ‘आज भनेको महत्वपूर्ण चिज हो। हरेक लेखक कलाकारले उसकै समयको चिन्ता गर्छन्। तपाईंले जे ग्रहण गर्ने हो आजबाटै गर्नुपर्छ। हरेकले आफ्नै समयको कथा भन्ने हो’, उनले भने। श्यामलले आजका कविताहरूसँग आफू सन्तुष्ट नरहेकाे बताए। भने, ‘नेपाली कविताले मैले सन्तुष्टि गर्ने गरी संवाद गरेको छैन। नेपाली कविताले आजलाई सम्बोधन गर्न बाँकी छ। आजका कवि बढी हलुका र धर्म नबुझी धार्मिक छन्।’
कवि प्रतीकले भने कविता बिग्रनुको दोष हाम्रो शैक्षिक प्रणालीलाई दिए। यद्यपि आजका कविताहरूमा आशै मार्नुपर्ने स्थिति नभइसकेकाे उनले बताए। ‘आश मार्नुपर्ने कारण छैन। सम्भावना पनि छ। कविता कोहीसँग तुलना हुन्न’, उनी भन्छन्, ‘मानवीय संवेदना, प्रेम, सम्बन्ध र संसारका जति पनि दर्शन भन्दा माथि उठेका चिज कवितालाई तुलना पनि गर्नुहुँदैन।’
कवि श्यामल हामीले लेख्ने गद्य कविताहरु गोपालप्रसाद रिमाल, भूपि शेरचनभन्दा फरक लेख्न नसकिरहेको अडान राखे। ‘कविताको आफ्नो भाषा हुन्छ। कवितालाई बोल्न दिनुहोस्। तर त्यसो हुन सकिरहेको छैन,’ उनले भने।
कवि प्रतीक सेलिब्रेटी हुने लोभमा कविता लेख्ने हो भने नलेख्न सुझाए। भने, ‘कविता लामो साधनाको मार्ग हो।’ १६ वर्षको उमेरदेखि कविता लेख्ने थालेका प्रतीकले ८ वर्षसम्म १० डालो कविता लेखेको अनुभव सुनाए। ‘८ वर्षपछि बल्ल मेरो कविताले सेफ लिन थाल्यो। तर अहिले पनि म कवि हैन, मिडियम हो जस्तो लाग्छ। यो मेरो लडाईं हो जस्तो लाग्छ।’ उनले भने।