
काठमाडौँ- नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरको रूपमा घोषणा गरेको छ।
एनएसल नेपालकै पहिलो फ्रन्चाइजमा आधारित व्यावसायिक लिग हो। शुक्रबार ललितपुरमा आयोजित विशेष समारोहमा यो साझेदारीको घोषणा गरिएको हो।
यो सहकार्यअन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवद्र्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ। साथै यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने एनसेलले विश्वास लिएको छ।
सन् २०२१ मा स्थापना भएको ‘एनएसएल’ लाई स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा आयोजना गर्दै आएको छ।
यसपालिको एनएसएल आगामी २९ मार्चबाट सुरू हुनेछ। प्रतियोगितमा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौँ रेन्जर्स एफसी, ललितपुर सिटी एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीसहित सात टिम सहभागी हुनेछन्।
एनएसएलका प्रबन्ध निर्देशक श्रेयास कार्कीले एनसेलसँगको साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइँमा पुर्याउने विश्वास व्यक्त गरे।
त्यस्तै एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले फुटबलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने स्रोत रहेको बताए। एनएसलसँग सहकार्य गरेर नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्त गर्दै देशलाई गर्व गराउने अनुभूति दिलाउन चाहेको उनले उल्लेख गरे।