
काठमाडौँ- फागुन २३ अर्थात् भोलिदेखि प्रदर्शन हुने फिल्म ‘होस्टेल ३’ देशभर टिकट खुलाइएको छ। देशभर फिल्मले दुई सय भन्दा बढी सो पाएको निर्माण टिमले जनाएको छ। बुधबारदेखि टिकट खुलाइएको हाे।
नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले उपत्यकामा २९ र उपत्यकाबाहिर ३७ गरी ६६ सो दिएको छ। दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजले १६ र वान सिनेमाजले जम्मा ९ सो दिएको छ। बिग मुभिज, एफक्युब सिनेमा र रञ्जना सिनेप्लेक्समा फिल्मको ५/५ सो छ भने बिएसआर सिनेमाज, सिके सिनेमाजले ४/४ सो दिएको छ।
‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करण बक्स अफिसमा सफल भएको थियो। तेस्रो शृङ्खलामा पनि दर्शकको राम्रो साथ मिल्ने टिमको अपेक्षा छ।
युवा पुस्ता लक्षित फिल्ममा होस्टेलकै कथा समावेश गरिएको छ। फिल्ममा पनि सबै कलाकार नयाँ छन्। सशान कँडेलले निर्देशनमा बनेको फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको अभिनय छ।
अभिनेता प्रवीण खतिवडा, आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि फिल्ममा देखिनेछन्। निर्देशक कँडेलकै कथा रहेको फिल्ममा माधव शर्माले पटकथा लेखेका हुन्। फिल्ममा युवापुस्ताको क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा देखाइएको छ। फिल्मको निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन्।