‘रिङ्कु घटनामा संलग्नलाई कानुनबमोजिम कडा कारबाही हुन्छ’

हिमाल प्रेस १८ फागुन २०८१ १६:०९
10
SHARES
‘रिङ्कु घटनामा संलग्नलाई कानुनबमोजिम कडा कारबाही हुन्छ’
काठमाडौँ– गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिकामा १७ वर्षीया रिङ्कुकुमारी सदाको सामूहिक बलात्कारपछि मृत्युको घटनामा संलग्नलाई कानुनबमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।राष्ट्रियसभाको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘रिङ्कु सदाको घटनामा जति पनि मानिस संलग्न छन्, अपराधमा संलग्न भएका मानिसलाई सक्रियताका साथ खोजतलास गर्ने, अनुसन्धान गर्ने र कानुनबमोजिम कडा कारबाही गर्नेमा पुनः प्रतिबद्धता व्यक्त गर्दछु।’

‘विसं २०८१ माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका–१ बस्ने रिङकुकुमारी सदा आफ्नै घरमा झुण्डिई मृत अवस्थामा फेला परेको, सो सम्बन्धमा सोही वडामा बस्ने अन्दाजी वर्ष १९ को टिङ्कु भन्ने रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दरखास्त दिएकामा निजको नाममा पक्राउ पूर्जी जारी थियो,’ उनले भने।

मन्त्री लेखकले यही फागुन ८ गते मृतकको आमाको तर्फबाट आठ जनाको विरुद्धमा अपहरण गरी आफ्नो नियन्त्रणमा राखी सामूहिक तबरबाट जबरजस्तीकरणी गरी हत्या गरेको र पञ्चयतीद्वारा लेनदेन गरी मिलापत्रसमेत गर्न खोजेको अन्तर्गतको कसुर शीर्षक उल्लेख गरी पूरक जाहेरी प्राप्त भएको पनि जानकारी दिए।

पञ्चयतीमा संलग्न तीन जनालाई पक्राउ गरी कानुनबमोजिमको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै उनले पूरक जाहेरी दरखास्तमा उल्लेख भएका आठजनाको नाममा पक्राउ पुर्जी जारी भएको संसद्लाई जानकारी गराए। घटनाको समबन्धमा पीडकलाई पक्राउ गरी छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउने गरी प्रहरीले सक्रियतापूर्वक खोजतलास गरिरहेको उनको भनाइ छ।

मन्त्री लेखकले नेहा रौनियार र सत्येन्द्र रामको अन्तरजातीय विवाह सम्बन्धमा उठेका प्रशनको जवाफ दिँदै सो घटनाको मुद्दामा राज्य पक्षबाट कुनैपनि हस्तक्षेप नभएको बताए।

‘मुलुकी अपराधसंहिता २०७४ को कानुनी व्यवस्था अनुरुप भएको अनुसन्धान र कारबाहीको विषयमा नेपाल प्रहरीले सार्वजनिकरुपमा जानकारी गराइसकेको छ, यस मुद्दामा राज्य पक्षबाट हस्तक्षेप भएको छैन। नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने।

अन्तरजातीय विवाहको सम्बन्धमा गृह मन्त्रालय गम्भीर र अत्यन्तै संवेदनशील रहेको जनाउँदै उनले नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेद्भावविरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्ने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील उल्लेख गरे।

‘म अत्यन्तै  संवेदनशील छु। म कुनै पनि प्रकारको जातीय विभेद् र छुवाछुतको विरुद्धमा सधैँ रहनेछु र रहेको छु, म आबद्ध पार्टी नेपाली कांग्रेस जन्मकालदेखि नै जातीय विभेद् र छुवाछुतविरुद्ध रहेको पार्टी हो, म अहिले र जीवनभर प्रतिबद्ध रहेको कुरा निवेदन गर्न चाहन्छु,’ उनले भने।

मन्त्री लेखकले आफू वैयक्तिक स्वतन्त्रता र मानव अधिकार रक्षाका लागि विद्यार्थीकालदेखि लड्दै आएको उल्लेख गरे। उनले भने, ‘अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शको अवमूल्यन हो भन्ने मैले ठानेको छु।’

यसै घटनालाई लिएर संयुक्त राजनीतिक दलित संघर्ष समितिका पदाधिकारीसँग भएको भेटमा आफूले दलितमाथि हुने विभिन्न प्रकारका भेद्भाव, उत्पीडन, छुवाछुतलगायतका घटनाको अनुसन्धानमा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गर्ने प्रतिबद्धता अनुसार कार्य पनि अगाडि बढाएको जानकारी दिए।

मन्त्री लेखकले भने, ‘यो अनुसार डेस्क स्थापना भएको छ र ७७ जिल्लामा स्थापना भएका डेस्कलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्ने व्यवस्थासमेत मिलाइएको छ, यसबाट सामाजिक कुरीतिका रुपमा समाजमा विद्यमान छुवाछुत तथा भेद्भाव हटाइ कानुन कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पुग्न जानेछ।’

प्रकाशित: १८ फागुन २०८१ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast