
काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सात दिनदेखि निरन्तर बढेको छ। गत साताको आइतबारदेखि मंगबारसम्म परिसूचक बढेको हो। परिसूचक अघिल्लो साता आइतबार १९.५६, सोमबार २९.८७, मंगलबार १२.६८ र बिहीबार ३.१४ अंकले बढेको थियो। यसैगरी यो साताको आइतबार आइतबार ११.६६, सोमबार ३.३५ र मंगलबार ७.१३ बिन्दुले परिसूचक बढेको छ।
मंगलबार नेप्से परिसूचक ७.१३ अंकले बढेर दुई हजार सात सय ६५.८८ को विन्दुमा कायम भएको छ। तीन सय १२ कम्पनीको एक करोड ७८ लाख ६५ हजार सात सय तीन कित्ता सेयर ९७ हजार पाँच सय ६२ पटक खरिदबिक्री हुँदा नौ अर्ब ९० करोड ९३ लाख ८६ हजार दुई सय २७ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा बैंकिङ ०.०२, होटल तथा पर्यटन ०.०५, लगानी ०.७७, जीवन बिमा ०.८१, उत्पादन तथा प्रशोधन ०.१८, म्युचुअल फन्ड ०.०५ र अन्य समूह २.९० प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ। विकास बैंक ०.१२, वित्त ०.७१, लघुवित्त ०.१५, निर्जीवन बिमा ०.२८ र व्यापार समूह २.५१ प्रतिशतले घटेको हो।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ। सबैभन्दा धेरै घट्नेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ९७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब दुई करोड ६२ लाख ७३ हजार बराबरको कारोबार भएको छ। त्यस्तै कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर सेयर १० लाख ३१ हजार दुई सय ८८ कित्ता किनबेच भएको छ।