
काठमाडौँ- सरकारले मनसुनजन्य विपद्मा परी बेपत्ता व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी मृतकसरह राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको उक्त निर्णय गरेको जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन्। उनले बैठकले २०८० वैशाख १ गतेयता मनसुनजन्य विपद्मा परेर बेपत्ता भएका व्यक्तिका परिवारलाई यस्तो राहत उपलब्ध गराइने बताए।
मन्त्रिपरिषद्ले गत आर्थिक वर्षमा कार्यसम्पन्न भएका आयोजना तथा कार्यक्रमको भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ। गुरुङले आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिए।
बैठकले पुल मर्मतसम्भारका लागि विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धमा सम्झौता र कार्यक्रमको दस्तावेजलाई अन्तिम रुप दिन वार्ताटोली गठन गरेको छ भने नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ।
सरकारले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एकजनालाई बढुवा गर्ने निर्णय गरेको छ भने एक जना महासेनानी, दुई जना सहायक रथी र एक जना उपरथीको पदावधि थप गर्ने निर्णय गरेको छ।