चीनमा किन घट्दैछ बिहे गर्नेको संख्या?

हिमाल प्रेस २८ माघ २०८१ १५:५३ | Monday, February 10, 2025
चीनमा किन घट्दैछ बिहे गर्नेको संख्या? चीनको उत्तरपूर्वी प्रान्त हेइलोङज्याङमा रमाउँदै पर्यटक। तस्बिर : सिन्हवा

काठमाडौँ- निरन्तर जनसांख्यिकीय चुनौतीको पछिल्लो संकेतलाई पछ्याएको चीनमा विवाह प्रतिशतमा गिरावट आएको छ। गत वर्ष चीनमा विवाह गर्नेको संख्यामा २० प्रतिशतले गिरावट आएको सरकारी तथ्यांकले जनाएको हो।

सरकारी तथ्यांकअनुसार सन् २०२४ मा ६१ लाख दम्पत्तीले विवाह दर्ता गराएका छन्। यो अघिल्लो वर्षको तुलनामा ७७ लाखले कम हो।

सन् २०२३ मा विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशको रूपमा रहेको चीनलाई भारतले उछिनेको छ। सन् २०२३ मा चीनको कुल जनसंख्या लगातार तेस्रो वर्ष २०.५ प्रतिशतले घटेको थियो।

गत वर्षको अन्त्यसम्म चीनमा ६० वर्ष वा सोभन्दा माथिको जनसंख्या कुल जनसंख्याको करिब एक चौथाई रहेको छ। हालकै वर्षहरूमा बेइजिङले सुरू गरेको परिवारसमर्थक अभियानका बाबजुद विवाहमा गिरावट आएको छ। अभियानमा विभिन्न अनुदानहरू र सन्देशमार्फत मानिसहरूलाई धेरै (दुई वा सोभन्दा बढी) बच्चा जन्माउन प्रोत्साहित गर्दछ।

चिनियाँ ‘माइक्रोब्लगिङ साइट–वेइबो’ का एक सेवाग्रहीले भनेका छन्,‘यदि म आफ्ना आमाबाबुमा भर पर्दिनँ भने घर किन्न सक्दिनँ र विवाह गर्न पनि ठूलो खर्च लाग्छ। यो वर्ष मलाई अचानक महसुस भयो कि अविवाहित हुनु पनि धेरै राम्रो छ। त्यति धेरै दबाब छैन, म कमाउँछु र आफ्नै पैसा खर्च गर्छु।’

सन् १९८० को दशकमा जनसंख्या वृद्धि उच्च बनेपछि चीनले ‘एक सन्तान नीति’ लागू गरेको थियो। यो नियम सन् २०१६ मा अन्त्य भएको हो। दम्पत्तीलाई सन् २०२१ मा तीन सन्तान जन्माउन अनुमति दिइएको थियो। तर, चीनको जनसांख्यिकीय परिवर्तनको संकेत देखिन थालिसकेको थियो।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा घट्दो विवाहले आगामी वर्षहरूमा पेन्सन र सार्वजनिक स्वास्थ्य प्रणालीमा दबाब बढाउने खतरा छ। चीनले सेप्टेम्बरमा लामो समयदेखि निरन्तरता पाएको ६० वर्षको वैधानिक सेवा निवृत्तिको उमेर क्रमशः बढाउने घोषणा गरिसकेको छ।-रासस/एएफपी

प्रकाशित: २८ माघ २०८१ १५:५३ | Monday, February 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast