काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहजस्ता नेताहरूलाई कुनै परिवार वा सीमित समूहको स्वामित्वमा राख्न नहुने बताएका छन्।
धर्म गौतमद्वारा प्रकाशित पुस्तकको आइतबार विमोचन गर्दै थापाले पछिल्लो समय बीपी कोइरालाका विचारलाई आफ्नो राजनीतिक अनुकूलताअनुसार व्याख्या गर्ने र आवश्यकता पर्दा मात्रै उनको नाम प्रयोग गर्ने प्रवृत्ति बढेको बताए।
उनले राजनीतिक निर्णय आफैँ गर्ने साहस नहुँदा नेताहरूले बीपीको नामको सहारा लिने गरेको आरोप लगाए। विशेषगरी ‘राष्ट्रिय मेलमिलाप’को प्रसंगलाई आफ्नो तत्कालीन राजनीतिक स्वार्थअनुसार प्रयोग गर्ने प्रवृत्तिले बीपीको वास्तविक विचारलाई कमजोर बनाउने उनको भनाइ थियो।
‘पछिल्लो समयको हाम्रो परम्परा आफूलाई जहाँनिर चाहिन्छ, बीपी कोइरालालाई त्यहीँनिर प्रयोग गर्ने भएको छ। अहिले ठाउँठाउँमा भएका छलफलमा बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ व्यापक रूपमा आइरहेको छ,’ थापाले भने।
उनले राजनीतिक लेनदेन वा गठजोडका विषयमा आफ्नै निर्णय प्रस्तुत गर्ने साहस नहुँदा बीपीको नाम लिने गरिएको टिप्पणी गरे।
‘नेताहरूले फेरि रातारात बीपीलाई सम्झनुभएको छ। रातारात बीपीलाई सम्झिँदा अहिले यहाँभित्र के गर्नुपरेको छ, कोसँग मिल्नुपरेको छ, कोसँग कानेखुसी गर्नुपरेको छ भन्ने कुरा आफैँ आएर भन्ने हिम्मत छैन। त्यो हिम्मत नभएपछि कसलाई सम्झनेभन्दा बीपीलाई सम्झने गरिएको छ,’ उनले भने।
थापाले बीपी र गणेशमानलाई कुनै परिवार, समूह वा सीमित घेराभित्र राख्न नहुनेमा जोड दिए। ‘बीपी कोइराला वा गणेशमानलाई कसैले आफ्नो घरभित्र कैद गर्न दिनुहुन्न। उहाँहरूलाई धेरै प्राइभेटाइज गर्न दिनुहुन्न,’ उनले भने।
पछिल्लो समय बीपीका विचारको अपव्याख्या भइरहेको भन्दै थापाले बीपीको आह्वानमा आन्दोलनमा सहभागी भएका पुराना पुस्ताका अभियन्ताहरूले उनका वास्तविक विचार र योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने बताए।
नयाँ पुस्तासँग बीपीसँग प्रत्यक्ष संवाद र अनुभव नभएकाले उनका नाममा गलत धारणा पनि स्थापित हुन सक्ने उनको भनाइ थियो।
‘हामीसँग त्यो आधिकारिकता हुँदैन। कहिलेकाहीँ तीन जना बसेर कुराकानी गर्दा कसैले बीपीले यसो भन्नुभएको थियो भन्नुहुन्छ। कहीँ पढेको पनि छैन, सुनेको पनि छैन। भन्नुभएको छ भनेपछि ‘हो कि’ भन्नुपर्ने अवस्था आउँछ। त्यसैले साँच्चिकै त्यो बेलामा जो अभियन्ताहरू हुनुहुन्थ्यो, उहाँहरूले बीपीको बारेमा भनिदिनुपर्छ,’ थापाले भने।
बीपीको राजनीतिक जीवन लामो र निरन्तर विकसित भएको उल्लेख गर्दै थापाले लोकतन्त्र र सामाजिक न्यायप्रतिको उनको मूल प्रतिबद्धता भने कहिल्यै परिवर्तन नभएको बताए।
उनले बीपीका आर्थिक विकास, उत्पादन, ग्रामीण विकास, साना उद्योग र प्रविधिको प्रयोगसम्बन्धी विचारलाई अहिलेको विकास बहससँग जोडेर अध्ययन गर्नुपर्ने बताए। बीपीका ती धारणालाई वर्तमान समयमा कृत्रिम बुद्धिमत्ताको विकास र प्रयोगको सन्दर्भमा समेत पुनः अध्ययन गर्न सकिने उनको भनाइ थियो।


