![शान्ति कायम गर्न प्रदर्शनकारीहरूलाई युनुसको अपिल](https://himalpress.com/wp-content/uploads/2024/08/Dr-yunus-696x447-1.jpg)
काठमाडौँ- बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले प्रदर्शनकारीहरूलाई शान्ति कायम गर्न अपिल गरेका छन्।
राजधानी ढाको धामन्डी–३२ स्थित प्रथम राष्ट्रपति शेख मुजीब–उर रहमानको घरमा आक्रमण भएपछि युनुसले यस्तो अपिल गरेका हुन्। रहमानको घरमा बुधबार राति प्रदर्शनकारीहरूले आक्रमण गरेका थिए।
युनुसले तत्काल कानुन व्यवस्था बहाल गर्न देशका नागरिकसँग अपिल गरेका छन्।
‘शेख हसिनाको परिवार र ‘फासिवादी अवामी लिग पार्टी’ का राजनेतासँग सम्बन्धित सम्पत्ति वा कुनै पनि बहानामा कोही नागरिकविरूद्ध आक्रमण नहोस्,’ उनले वक्तव्य जारी गरेर भनेका छन्,‘सरकार प्रदर्शनकारीहरूको असन्तुष्टिका कारण बुझेको छ। नयाँ दिल्लीमा शरण लिएर बसिरहे पनि शेख हसिना आफ्ना लडाकुमार्फत सामान्य स्थितिमा फर्किने हाम्रो प्रयासमाथि अड्को थापिरहेकी छन्।’
उत्तेजक गतिविधिमार्फत मुलुकलाई अस्थिर गर्ने प्रयास वा अराजकता फैलाउने काम गरेको खण्डमा कडा कारबाही हुने युनुसले चेतावनी दिएका छन्।