रविमाथि सम्पत्ति शुद्धीकरण मुद्दा नचलाउने अभियोगपत्र छानबिन गर्न समिति गठन

हिमाल प्रेस २३ माघ २०८१ १८:५४
34
SHARES
रविमाथि सम्पत्ति शुद्धीकरण मुद्दा नचलाउने अभियोगपत्र छानबिन गर्न समिति गठन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितलाई संगठित अपराध र सम्पति शुद्धीकरणको विषयमा मुद्दा नचलाउने चितवन जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमाथि अध्ययन गर्न छानबिन समिति गठन भएको छ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना गरेको अभियोगमा रास्वपाका अध्यक्ष लामिछानेसहित ३२ जना विरुद्ध अभियोगपत्र दायर गरिएको थियो।

त्यसमध्ये अध्यक्ष लामिछानेसहित २० जना विरुद्ध ठगीको मुद्दा र १२ जना विरुद्ध संगठित अपराध र सम्पति शुद्धीकरणको मुद्दा दायर गरिएको थियो। चितवन सरकारी वकिल कार्यालयको उक्त अभियोग त्रुटिपूर्ण रहेको उल्लेख गर्दै महान्यायधिवक्ता कार्यालयले अभियोगपत्रमाथि अध्ययन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको हो।

महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायधिवक्ता गोपालप्रसाद रिजाल संयोजक रहेका समिति सदस्यहरुमा सहन्यायधिवक्ता तथा महान्यायधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहाल, उच्च वकिल सरकारी कार्यालय हेटौँडाका सहन्यायधिवक्ता ईश्वरीप्रसाद ढकाल र सदस्य सचिवमा महान्यायधिवक्ता कार्यालयका उपन्यायधिवक्ता रुद्रप्रसाद आचार्य रहेका छन्।

महान्यायधिवक्ता कार्यालयका प्रवक्ता दाहालकाअनुसार चितवन सरकारी वकिल कार्यालयले दायर गरेको अभियोगपत्र त्रुटिपूर्ण देखिएकाले छानबिन समिति गठन गरिएको हो।

महान्यायाधिवक्ता कार्यालयले रास्वपाका अध्यक्ष लामिछानेसँग साठगाँठ गरेर वा दबाबमा परेर यस्तो अभियोगपत्र दायर भयो भन्ने गम्भीर आशंकामा छानबिन समिति गठन गरेको जनाएको छ।

सरकारले दबाब दिएर सरकारी वकिल कार्यालयले यस्तो अभियोगपत्र दर्ता गरेको भन्ने भाष्य निर्माण गरिए पनि सो निर्णय यथार्थ नभएको महान्यायधिवक्ताको कार्यालयले जनाएको छ।

रास्वपाका सभापति लामिछाने विरुद्ध अन्य तीन अदालतमा संगठित अपराध र सम्पति शुद्धीकरणमा पनि मुद्दा चलाइएको थियो। तर चितवन जिल्ला अदालतमा ठगीको मात्र अभियोग लगाइएको छ।

महान्यायधिवक्ता कार्यालयले बुधबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनका जिल्ला न्यायधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिन गर्न महान्यायधिवक्ताको कार्यालयमा सरुवा गरिसकेको छ।

प्रकाशित: २३ माघ २०८१ १८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast