चीन, क्यानडा र मेक्सिकोलाई अतिरिक्त कर लगाउँदै ट्रम्पले भने, अब ईयूको पालो

हिमाल प्रेस २० माघ २०८१ १७:१३
18
SHARES
चीन, क्यानडा र मेक्सिकोलाई अतिरिक्त कर लगाउँदै ट्रम्पले भने, अब ईयूको पालो डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन ठूला व्यापारिक साझेदार क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा अतिरिक्त कर लगाउने भएका छन्। ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले क्यानडा, मेक्सिको र चीनमाथि अतिरिक्त कर लगाउने निर्णय सार्वजनिक गरेको हो।

ह्वाइट हाउसले बढाइएको कर फेब्रुअरी १ देखि लागू हुने पुष्टि गरेको छ। ट्रम्पले क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका छन्। उनले ती देशहरू अवैध आप्रवासीलाई अमेरिकामा प्रवेश गर्न रोक्न असफल भएको तथा लागूऔषध फेन्टानाइलको आपूर्ति नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन्। उनले चीनबाट आयात हुने सामानमा १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा पनि गरे।

ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले पत्रकारहरूसँग भनिन्, ‘राष्ट्रपति ट्रम्पले केही साताअघि जारी गरेको फेब्रुअरी १ को समयसीमा यथावत् छ। क्यानडा र मेक्सिकोले अवैध फेन्टानाइलको नियन्त्रण गर्न असफल भए, जसले अमेरिकी नागरिकहरू समस्यामा छन्। साथै ती देशले आप्रवासीहरूको घुसपैठलाई पनि बढावा दिएका छन्।’

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले क्यानडा, मेक्सिको र चीनले यी अतिरिक्त कर रोक्न ‘केही गर्न नसक्ने’ बताएका छन्। उनले चिप्स, तेल र ग्यासजस्ता उत्पादनमा पनि कर लगाउने बताए। ट्रम्पका अनुसार फेब्रुअरी १८ देखि तेल र ग्यासमा कर लागू हुन सक्छ। ट्रम्पले निकट भविष्यमा युरोपेली संघ (ईयू) माथि कर लगाउने चेतावनी दिएका छन्। उनले भने, ‘के म युरोपेली संघमाथि कर लगाउने छु? के तपाईंहरू साँचो उत्तर चाहनुहुन्छ वा कूटनीतिक उत्तर? नि:सन्देह, युरोपेली संघले हामीसँग धेरै नराम्रो व्यवहार गरेको छ।’

डोनाल्ड ट्रम्पको चेतावनीले अमेरिकाका पुराना युरोपेली साझेदारहरू चिन्तित भएका छन्।  –एपी/एएफपी/रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast