काठमाडौँ- नेपाल टिस्यु उद्योग संघको अध्यक्षमा यादव घिमिरे निर्वाचित भएका छन्। संघको तेस्रो वार्षिक साधारणसभाबाट घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन्।
कार्यसमितिको उपाध्यक्षमा रामहरि कार्की, सचिवमा विष्णुप्रसाद बख्रेल र कोषाध्यक्षमा श्यामहरि लुइँटेल चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा प्रेमहरि मैनाली, निरञ्जन घिमिरे, राजेश श्रेष्ठ, अनिल प्रधान र सुनिला गोयल अग्रवाल निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष घिमिरेले टिस्यु पेपरको कच्चा पदार्थमा सरकारले लगाएको अन्तःशुल्क हटाउन पहल गर्ने बताए। उनले संघको सदस्यता विस्तार, मर्यादित तथा व्यवस्थित संगठन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि धर्मेन्द्र झाले नेपाली टिस्यु पेपरहरू पनि अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुपर्नेमा जोड दिए। उनले नेपालमा उत्पादित टिस्यु पेपर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे। झाले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए।
संघका निवर्तमान अध्यक्ष मनोज मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुशीलकुमार गोशाली, इन्द्रबहादुर कार्कीलगायतका अतिथिले नवनिर्वाचित कार्यसमितिले टिस्यु उत्पादनको क्षेत्रमा उल्लेखनीय काम गर्ने विश्वास व्यक्त गरे।