काठमाडौँ- नेपाली सेनाले सेना दिवसका अवसरमा फोटो तथा बृहत् प्रदर्शनी आयोजना गरेको छ। जंगीअड्डामा मंगलबार सुरु भएको फोटो तथा बृहत् प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ। प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हतियार र उपकरणको राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रदर्शनीको शुभारम्भ जंगीअड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले प्रदर्शनीको गरेका हुन्। कार्यक्रमपछि प्रधानसेनापति लगायत अतिथिहरूले प्रदर्शनीको अवलोकन गरेका थिए। प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दललगायतका गतिविधिहरू समेट्ने गरी कुल २९ वटा स्टलहरू राखिएका छन्।
कार्यक्रममा सैनिक श्रीमती संघकी अध्यक्ष, बलाध्यक्ष, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रथीवृन्द, जनसम्पर्क तथा सूचना निर्देशनालयका पूर्व निर्देशकहरू, सैनिक सहचारीहरू, अधिकृत, सञ्चारकर्मीहरू लगायतको उपस्थिति थियो।
समारोहमा प्रधानसेनापति सिग्देलले नेपाली सेना फोटो प्रतियोगिता – २०८१ का उत्कृष्ट ३ जना गैरसैनिक फोटोग्राफरहरू, तीन वटा नेपाली सेनाका युनिटहरू र १ जना जनसम्पर्क तथा सूचना निर्देशनालयका फोटोग्राफरलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुका साथै मूल्यांकन समितिका सदस्यहरूलाई कदरपत्रद्वारा सम्मानित गरेका थिए।
आमनागरिकलाई सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए। प्रदर्शनी माघ १८ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।