सिमेन्टको मूल्यवृद्धि नियन्त्रण गर्दैछौँ : उद्योगमन्त्री भण्डारी [अन्तर्वार्ता]

रमेश भारती १० माघ २०८१ १७:०७
62
SHARES
सिमेन्टको मूल्यवृद्धि नियन्त्रण गर्दैछौँ : उद्योगमन्त्री भण्डारी [अन्तर्वार्ता]

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयको नेतृत्व गरेको ६ महिना बितेको छ। उनले यस अवधिमा गरेका कामका विषय भन्दा सिमेन्टको मूल्यवृद्धिका विषयमा धेरैको चासो छ। सांसदहरूले त मन्त्रीले मिलेमतोमा सिमेन्टको चर्को मूल्य बढाएको आरोप लगाएका छन्। सिमेन्टको भाउ बढेको विषय संसद्को सार्वजनिक लेखा समितिमा पनि प्रवेश गरेको छ। सिमेन्टको मूल्यवृद्धि, उद्योग व्यवसायलगायतका विषयमा मन्त्री भण्डारीसँग गरिएको छोटो कुराकानी :

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व गर्नुभएको ६ महिना भयो। तपाईँमाथि त्यस्तो उपलब्धि देखिने गरी काम नगरेको आरोप छ। फेरि सबै क्षेत्रका व्यवसायी तपाईँको मन्त्रालयसँग किन असन्तुष्ट छन्?

म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीमा आएपछि व्यवस्थापन सुधारको काममा जोड दिएँ। अहिले औद्योगिक क्षेत्रलाई सुधार्न कानुन संशोधन पनि भएको छ।
उद्योग कलकारखाना चलाउन कानुनी समस्या हटाउनुपर्छ। अहिले उद्योग दर्ता गर्न सहज बनाइएको छ। तपाईँहरूले नदेख्नु भएको होला। जनताले त प्रस्ट देखेका छन्। व्यवसायीले पनि तपाईँले हाम्रा लागि काम गर्नुभएको छ भनेर मसँग भएको भेटमा सुनाउँदै आएका छन्। अब कसरी उद्योगीहरू असन्तुष्ट छन् भन्नु त?

सरकारसँग उद्योगी असन्तुष्ट छन् भन्ने मलाई लाग्दैन। व्यवसाय विस्तारसँगै प्रवर्धनका लागि सरकारले सक्दो प्रयास गरिरहेको छ। पछिल्लो समय नयाँ व्यवसायी थपिने क्रम पनि बढ्दो छ।

नेपालबाट निर्यात हुने महत्त्वपूर्ण उत्पादनमध्ये च्यांग्राको भुवाबाट बन्ने पस्मिना कपडा हो। यस क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माण र अन्य काम भइरहेको छ। सरकारले नयाँ उद्योगी र उत्पादन क्षेत्रमा काम गर्ने व्यवसायीलाई सहयोगसँगै लगानीको वातावरण बनाउन सक्दो प्रयास गरिरहेको छ। यसको चाँडै नतिजा पनि सार्वजनिक हुन्छ। केही कमीकमजोरी भएको होला। त्यसको समीक्षा गरेर अघि बढ्न हो। उद्योगीका हकमा केही समस्या होलान्। ती समस्या पनि समाधान हुन्छन्।

पस्मिनाका उत्पादन सामग्री बजारीकरणका लागि मन्त्रालयले सहयोग गरेन भनेर प्रदर्शनीमा सहभागी उद्योगी व्यवसायीले आरोप लगाइरहेका छन् त?

सरकारले स्वेदशी उत्पादनलाई प्रवर्धन र विदेशीमा बजारमा व्यापार बढाउन सहयोग गर्दै आएको छ। पस्मिना फाइबर प्रशोधनका लागि सरकारले विशेष काम गर्दै आएको छ।
पस्मिना उद्योगका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार सक्रिय छ। पस्मिनाका उत्पादनलाई विदेशी बजारमा व्यापार गर्न र बढाउन पनि सरकारले सहयोग गर्छ। अहिलेसम्म कति देश पस्मिनाका सामग्री व्यापार भइरहेको भन्ने विषयमा अध्ययन गरेर बजारीकरणका लागि पहल गर्छु। अहिले यति मात्र भनौँ।

पछिल्लो समय सिमेन्टको मूल्य बढ्दा चुपचाप बस्नुभयो रे। किन?

सिमेन्टको मूल्य अचाक्ली बढेको छैन। केही व्यक्तिले सिमेन्टको भाउ बढ्यो भनेर हल्ला चलाए। हल्ला जे चलाउन पनि पाइन्छ। बाहिर हल्ला भए प्रतिबोरा ४ सयको ८ सय पुगेको छैन। अहिले मन्त्रालयले अनुगमन गरिरहेको छ।

उद्योगीहरूले सिजन र अफसिजनमा मागसँगै आपूर्तिका कारण मूल्यमा प्रतिबोरा ८०-९० रुपैयाँ बढाएका होलान्। अस्वाभाविक मूल्य बढेको छैन। यस विषयमा मैले दैनिक सिमेन्ट उत्पादक र व्यवसायीसँग कुराकानी गरिरहेको छु। सिमेन्टको अभाव सिर्जना भयो भन्ने विषय आयो। अहिले यो समस्या समाधानका लागि पहल भइरहेको छ।

सिमेन्टको मूल्य वृद्धिका सम्बन्धमा नेपाल निर्माण व्यवसायी महासंघले लगाएको आरोप के हो त?

बजारमा प्रतिबोरा ८ सय रुपैयाँसम्म सिमेन्ट बिक्री भइरहेको हल्ला चलाइयो। एक महिनायता मन्त्रालयले यसै विषयमा बजारमा अनुगमन र सिमेन्ट व्यवसायीसँग छलफल गरिरहेको छ। हामीसँग भएको छलफलमा व्यवसायीले सिमेन्ट मूल्य बढेको होइन, अभावका भएका कारण केही थपघट भएको हो भनिरहेका छन्।

अहिले बजारमा सिमेन्टको मूल्य ५ सय ५० सम्म पुगेको होला। सिमेन्ट उत्पादन र मूल्यवृद्धि नियन्त्रणका लागि पहल भइरहेको छ। यो समस्या चाँडै समाधान हुन्छ। सिमेन्टको मूल्य पनि चाँडै निर्धारण हुन्छ। यस विषयमा बढी हल्ला आवश्यक छैन।

संसद्को सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको अस्वाभाविक मूल्यवृद्धि रोक्न सरकारलाई निर्देशन दिइसकेको छ। यसका आधारमा यही सातामा महत्त्वपूर्ण छलफल हुन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast