मुलुकमा राजनीतिक दुर्घटनाको खतरा बढेको छ : प्रचण्ड

हिमाल प्रेस ४ माघ २०८१ २०:२०
16
SHARES
मुलुकमा राजनीतिक दुर्घटनाको खतरा बढेको छ : प्रचण्ड

विराटनगर- नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका केन्द्रीय सदस्यहरूले सम्पत्तिको स्रोत देखाउनुपर्ने बताएका छन्।

शुक्रबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

माओवादी केन्द्रको केही दिनअगाडि सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यहरूले सम्पत्ति विवरण बुझाउनुपर्नेसहितको प्रतिवेदन पारित गरेको थियो।

अध्यक्ष प्रचण्डले सम्पीत्त विवरण बुझाउनुपर्ने मात्रै नभएर सम्पत्तिको स्रोत पनि देखाउनुपर्ने र गैरकानुनी ढंगले कमाएको देखिए कारबाही गरिने बताए।

‘कारबाही गर्नकै लागि त्यो भनिएको हो। हामीले पहिले पनि महाधिवेशनबाट यो कुरा उठाएका थियौँ। त्यसलाई योजनामा ढालेका थिएनौँ,’ उनले भने,‘अनुगमनका लागि हामीसँग शक्ति सम्पन्न लेखा आयोग छ। त्यसलाई अनुगमनको जिम्मा पनि दिइसकेका छौँ। दोषी देखियो भने कारबाही गरिन्छ।’

प्रचण्डले वर्तमान सत्ता गठबन्धन अप्राकृतिक रहेको र राजनीतिक दुर्घटनाको जोखिम रहेको बताए। यो गठबन्धन बनेदेखि नै मुलुकमा राजनीतिक दुर्घटनाको खतरा बढेको उनको भनाइ छ।

‘यो गठबन्धन बनेदेखि नै मुलुकमा राजनीतिक दुर्घटनाको खतरा बढेको छ, सदन बोलाउनुपर्ने बेलामा अध्यादेश आएको छ, त्यो पनि संविधान र कानुन मिचेर ल्याइएको छ। सदनमा छलफलको क्रममा रहेको विधेयकसँग सम्बन्धित विषय पनि अध्यादेश बनेर आएको छ,’ प्रचण्डले भने,‘त्यही कारण विपक्षी सात राजनीतिक दलको बैठक बसेर त्यसको विरोधमा खडा भएका छौँ। यो अध्यादेश फिर्ता लिन जरूरी छ।’

उनले आफूहरूलाई सरकारमा जान हतारो नभएको बताए। ‘सरकारमा जाने हतारो छैन। सरकारको उल्टो यात्राले सरकार ढल्छ भनेको हो,’ प्रचण्डले भने।

अध्यादेशबाट शासन गरेर भ्रष्टाचारीलाई जोगाउँदै जाने हो भने सरकारका विरूद्ध सडकबाट ठूलो संघर्ष हुने उनले चेतावनी दिए।

प्रचण्डले भने,‘यो कुरा हामीले सरकारलाई चेतावनी दिएका हौँ। यो कुरा सरकारले बुझोस्, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि बुझोस् भन्ने कुरा हो। यो कुरा नबुझेर सरकार हल्का रूपमा लियो भने सडकमा ठूलो आन्दोलनको परिस्थिति सिर्जना हुनसक्छ।’

प्रकाशित: ४ माघ २०८१ २०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast