‘हामी सरकारमा जान हतारिएका छैनौँ, ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु उचित हुन्छ’

हिमाल प्रेस ४ माघ २०८१ १७:०१ | Friday, January 17, 2025
‘हामी सरकारमा जान हतारिएका छैनौँ, ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु उचित हुन्छ’

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनु उचित हुने बताएका छन्। शुक्रबार विपक्षी दलको साझा धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धन बनाउँदाको केही पनि कार्य अघि बढाउन नसकेकाले सरकारले नैतिक आधार गुमाएको बताए।

‘जे भनेर गठबन्धन बनेको थियो, ती केही पनि काम अघि बढेका छैनन्। संविधान संशोधन त प्रधानमन्त्री आफैँले २०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन इत्यादिका बारे भनिएका कुरा पनि ठिक उल्टो गतिविधि गरेपछि सरकारले नैतिक रूपमा सरकारमा बसिराख्ने आधार गुमाएको छ,’ उनले भने, ‘नैतिकताको आधारमा राजीनामा दिनु उचित हुन्छ। यसको अर्थ हामीले सरकारमा जान हतारियौँ भन्ने लाग्दैन।’

संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने सरकारको विश्वासिलो आधार नदेखिएकाले आफूहरूले विशेष अधिवेशन बोलाउने भनेको उनले बताए। सरकारको गलत क्रियाकलापको निरन्तर प्रतिवाद गर्ने उनले उल्लेख गरे।

‘सरकारले हाम्रो कुराको नजरअन्दाज गरे हामी कदम चाल्न बाध्य हुन्छौँ। विशेष अधिवेशन मात्रै होइन, सडक संघर्षमा जाने वक्तव्यमा प्रस्ट भनेका छौँ,’ उनले भने।

प्रकाशित: ४ माघ २०८१ १७:०१ | Friday, January 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast