काठमाडौँ- एन्फा राष्ट्रिय महिला लिग अन्तर्गत आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।
लिगमा पुलिस र आर्मी तेस्रो पटक एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन्। यी दुईबीचको पछिल्लो दुई भेट बराबरीमा टुंगिएको थियो। गत सेप्टेम्बरमा भएको पहिलो चरणमा पुलिस र आर्मीले १-१ को बराबरी खेलेका थिए। १० दिनअघि यी दुईले सुपर स्टेजको पहिलो चरणमा फेरि अंक बाँडे। यसपालि कुनै पनि गोल भएन।
सुपर स्टेजमा चार टोली प्लेअफमा पुग्ने समीकरण छ। एपीएफले शीर्ष स्थानमा आफ्नो पकडलाई बलियो बनाएको छ। यस्तोमा दोस्रो स्थानमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्ने हो भने बिहीबार हुने पुलिस र आर्मीबीचको खेल निर्णायक बन्न सक्छ।
पुलिस र आर्मी दुवैको पाँच खेलबाट समान १० अंक छ। तर, गोल अन्तरका आधारमा आर्मी पुलिसभन्दा ११ गोलले अगाडि छ।