काठमाडौँ- एन्फा महिला लिग दुई शीर्ष टोली एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आज एकअर्काको सामना गर्दैछ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा विभागीय डर्बी खेल दिउँसो १२:०० बजे सुरु हुनेछ। अन्तिम चरणमा दुवै टोली अपराजित रहँदै आएका छन्।
सबै ३ खेल जितेको एपिएफ ९ अंकसहित शीर्ष स्थानमा छ। ३ खेलमा २ जित र १ बराबरी खेलेको आर्मी ७ अंकसहित दोस्रो स्थानमा छ । समान अंकको अर्को विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो स्थानमा छ।
दोस्रो चरणबाट एपीएफ शीर्ष र आर्मी दोस्रो स्थानमा रहँदै अन्तिम चरणमा पुगेको थियो। दोस्रो चरणमा एपिएफले आर्मीलाई हराएको थियो।
अन्तिम चरणमा सहभागी ५ टोलीले दुई पटक एकअर्काको सामना गर्नेछन्। त्यसपछिका शीर्ष ४ टोली प्ले अफमा पुग्नेछन्। ३ अंक जोडेको बागमती युथ क्लब चौथो र अंकविहीन वालिङ नगरपालिका पुछारमा छ।