यसपालिको हिउँद…
अर्थात् २०८१ सालको हिउँद बाँकी नै छ।
माघ लागेपछिको जाडो/ठिही खेप्न शरीरलाई तयार राख्नुपर्ने अवस्था छ।
‘एक माघले जाडो जाँदैन’ भन्ने लोकोक्तिसँग पनि हामी परिचित छौं। माघ आगेसाल पनि आउँछ। हो,यसपालिको माघ देखे-बेहोरेका सबैले अर्को माघ नदेख्न सक्छन्। अर्को लोककथन छ नि- ‘बलिया बाङ्गा बाघलाई बूढाखाडा माघलाई’।
माघ महिनाका महिमा कति हुन् कति। माघ नुहाउन माघे सक्रान्तिको दिन नदी खोला जलाशयहरूमा भीड लागेकोले माघसँग गाँसिएको हाम्रो संस्कृतिको चर्चा यसै बखत हुन्छ। माघे सक्रान्ति नजिक आउँदा गाउँ-घर, शहर-बजार सबैतिर तरुल मात्र होइन घिउ, चाकु र लड्डु आदि परिकारको सम्झना हुने गर्छ। स्वस्थानी कथाको थालनी माघमै हुन्छ।
जे होस्, नेपालमा यसपालिको हिउँदको आरम्भ हुनेबित्तिकै अर्थात् मङ्सिरको जाडो छल्दै हिन्दुस्थानको पनि दक्षिणी भेगका तीर्थस्थल पुग्ने लक्ष्य राखेको १८ जनाको समूह काठमाडौंबाट लाग्यो तीर्थयात्रातिर। दक्षिणतर्फ रामेश्वरम्सम्म पुग्ने तालिका बनेको थियो,तर उत्तर भारतमा अवस्थित् रामजन्मभूमि अयोध्या नगईकन दक्षिणतिर दौडिने रेल नचढ्ने कुरामा सामूहिक सहमति भैसकेको हुनाले सीमापारि तय गरिएको बसको पहिलो गन्तव्य गराइयो सरयु नदी किनारमा अवस्थित् अयोध्यालाई। यहींका राजा दशरथको परिवारमा जन्मेका राम कालान्तरमा वनवासी हुँदै पत्नी सीताको खोजीमा लङ्का पुगेको रामकथाबाट सबै परिचित छौं। समुद्रमाथि सेतु बाँधेर लङ्कातर्फ लाग्नुअघि रामले भगवान् शङ्करको पूजा(अर्चना गरेको प्रसङ्गसँग जोडिएको छ रामेश्वरम् पवित्र धाम। यसै धाममा पुग्ने ध्येय राखेर अयोध्यादेखि नै रामको चरण पछ्याउँदै यात्रा गर्न कस्सिएको थियो हाम्रो टोली। मङ्सिरका दिन छँदै।
मङ्सिरको महिनाको भिन्दै महत्व छ। द्वापर युुगमा महाभारतको लडाञी शुरू हुने बेलामा श्रीकृष्णले अर्जुन मार्फत दिनुभएको ज्ञान अर्थात् श्रीमद्भगवत् गीतामा मङ्सिरको महिमा चर्चित छ। दशौं अध्याय (विभूति योग) मा आफ्ना मुख्य-मुख्य विभूतिको वर्णन गर्ने क्रममा कृष्ण भन्नुहुन्छः महिनाहरूमा म मार्गशीर्ष (मङ्सिर) हुँ।
अयोध्याको आकर्षण
यता, अयोध्याको उल्लेख त त्रेतायुगबाटै भएको मानिन्छ। अहिले कलियुगको यस कालखण्डमा आइपुग्दाको अयोध्या टेक्न इच्छुक हामीले मङ्सिर २० गते (५ डिसेम्बर २०२४) नव-निर्मित मन्दिरमा स्थापित बाल्यकालका रामको दर्शन गर्नु थियो, गर्यौं। दर्शनार्थीहरूको भीड, दर्शनको लागि उभिएका नर-नारीका लामा-लामा लाइन, गौंडा-गौंडाको सुरक्षा जाँच आदि छिचोल्दै रामको मूर्तिनजिक पुग्नु आफैंमा एक उपलब्धि। दर्शन गर्ने क्रमका थोरै क्षणको उपयोग समेत गर्न नपाउँदै स्वयंसेवकहरूले ‘छिटो-छिटो’ निस्कन निर्देशन दिने। हुन त यसो नगरे पनि नहुने- आखिर लाखौंको संख्यामा हरेक दिन पुग्ने दर्शनार्थीहरूलाई पालो पनि दिनैपर्यो।
अयोध्याबाट बसद्वारा गोरखपुर पुग्दा साँझ भैसकेको थियो। तय गरिएको होटलमा सर-सामानका बाकस र झोला बिसाएर विश्राम गर्नु बेग्लै चुनौती। भोलिपल्ट सबेरै गोरखपुर स्टेसन पुगेर सात बजेअगावै खुल्ने ‘राप्ती सागर एक्सप्रेस’ रेलमा सवार हुनु थियो, भइयो। पहिलो स्टेसन नै गोरखपुर भएकोले चढ्नलाई हतार थिएन, तर सामान ओसार्ने कुल्लीहरूको माग, व्यवहार र दबाबले यात्रुहरूलाई तनावमा पारेको थियो। संयोजक/आयोजक गोविन्द अधिकारीको यस भेगको अनुभव टोलीका अधिकांश सदस्यहरूको जस्तै शून्य नभए पनि नगण्य रहेछ। हिन्दी बोल्ने अभ्यास सीमित हुनेले त्यसै पनि बढी हानि-नोक्सानी खेप्नुपर्ने। जसोतसो, टिकट अनुसार हाम्रो टोली ५७ घण्टाको अविराम रेलयात्रा तय गरेर दक्षिणी तटमा पर्ने केरल राज्यको राजधानी तिरुअनन्तपुरम् (त्रिवेन्द्रम्) पुग्ने अठोटका साथ रेलको निर्धारित डब्बामा चढ्यौं। ३२ सयभन्दा बढी किलोमिटेर छिचोलेपछि पुगिने त्यहाँको स्टेसनको नाम चाहिँ रहेछ कोचुवेली। रेलमा हामी सबै एउटै ७२ जना अट्ने एउटै डब्बामा थियौं तर सीट नम्बरको अन्तरले कोही यो कुनामा त कोही अर्को कुनामा।
रेल गुडेपछि हल्लखल्लको वातावरणमा शान्ति छाउँदै गयो। स्थानीय यात्रीहरूको चर्को स्वर,आफूले सहजसँग नबुझ्ने तिनको भाषा आदि कुराले नेपाली टोलीका सदस्यहरूलाई अभ्यस्त हुँदै जान समय लाग्नु स्वाभाविकै थियो। गोरखपुरबाट रेल नगुड्दै ‘आजका अखबार’ हातमा लिएर ग्राहक खोज्दै हिंडेको मान्छेलाई क्षणभर रोकेर अखबारका हिन्दी नामहरू हेर्दै गर्दा सोधें–अङ्ग्रेजी पनि छ कि? उसले ‘छैन’ भन्दै केही शब्द थप्यो जसको आशय थियो- पहिले नै अङ्ग्रेजीबारे सोधिदिएको भए मैले यहाँ व्यर्थै अडिरहनु पर्ने थिएन। उसको भनाइ गलत त थिएन तर मेरा कारण उसले रोकिनु परेको समय एक मिनेटभन्दा कमै हुँदो हो। यस प्रसङ्गले सीमापारिको छिमेकमा पाइने एउटा प्रवृत्तिको सानो झलक दिन्छ।
बाटाको साथी हुन आइपुगेका थिए:– नेपालको बागलुङतिर घर बताउने र चेन्नाई (मद्रास)तिर सुरक्षा गार्डको रोजगारीमा रहेका एक अधबैंसे पुरुष। विदा सकिएर काममा फर्किने क्रममा छु भन्थे। टिकट काट्दा नमिलेर हो वा उनकै चाहनाले हो, पत्नी र छोरा-बुहारी अर्कै डब्बामा परेछन्। तीमध्ये कहिले कोही कहिले कोही हाम्रो छेउतिर आएर बस्थे। नेपाली भएकोले हामीमध्ये कसैले पनि यसलाई असहज मानेनौं यद्यपि बेला-बेलामा तिनको कुराकानीले जन्माउने खल्बलबाट हाम्रो आरामीमा धेरथोर असर पर्थ्यो नै।
रेल चढेको दोस्रो दिन हो क्यार, ती बागलुङे त सुतेको ठाउँबाट भुइँमा ढङ्रङ्ग भुइँमा लडे। वरपर हल्लखल्ल भयो, र परिवारजनमा कोकोहोलो।
एकै कक्षमा बसेका हामीमध्ये कतिले रेल-कर्मचारीसँग डाक्टर बोलाइदिन आग्रह ग-यौं। निकै बेरको हल्लीखल्लीपछि त्यस कर्मचारीले अर्को स्टेसनमा ओर्लेर अस्पताल लैजाने विकल्प दियो। तर बागलुङे र तिनका जहानले चेन्नाई पुगेर मात्र ओर्लिने र त्यतैको अस्पताल जाने टुङ्गो गरे। उता पुग्न पाए ‘आधार कार्ड’ को उपयोग गरी सहुलियतमा उपचार गराउन पाइने तिनको भनाइ थियो। त्यसबीचमा बागलुङेको ‘धेरै पिउने बानी’ ले समय-समयमा समस्या सिर्जना गरेको भेद परिवारजनबाटै खुल्न पुग्यो। तर उनी पछारिएका बखत खुट्टा तानेको देखेर वरिपरिका यात्रु झस्केका थियौं। कदाचित् ती तलमाथि परे भने सहयात्रीहरू अदालतमा साक्षी बक्न जानेमा पो पर्छन् कि भनेर म पनि किञ्चित् चिन्तित थिएँ। तर पछि बागलुङे टोली चेन्नाईमा ओर्लियो, र हामीहरूले राहतको अनुभव गर्यौं।
तर त्यसै लङ्मा सुत्ने सीट भएका गोविन्द अधिकारीलाई मदिरासमेतको चर्को दुर्गन्धले हुनसम्मको असर पारेको रहेछ। जे भए तापनि परदेशमा स्वदेशका भाइबन्धुको सहयोग पाउन तिनलाई लेखेको रहेछ, बेशै भयो भन्ने निचोड निस्कियो। यता, त्यो गलफत्तीले गर्दा बी-बीचमा पर्ने कानपुर, नागपुर, विजयवाडा समेतका केही प्रमुख स्टेसनहरू छुटिसकेको पत्तै भएन।
कतिपय स्टेसनमा रेल रोकिंदा गोडा तन्काउने रहरले हामीमध्ये कोही ओर्लिने गर्थ्यौं, र रेलको पहिलो सिट्ठी बज्नासाथ डब्बामा फर्किहाल्थ्यौं। चिया-कफी र खानेकुरा बेच्नेहरूको हल्लासित अभ्यस्त पनि हुनै पर्यो। ओर्लिने-चढ्ने यात्रुहरू थोरै समयमा मालसामान सहित व्यवस्थित हुनुपर्ने बाध्यताले अगुताईरहेका देखिन्थे। हरेक डब्बाबाहिर शौचालय र हातमुख धुने ठाउँ उपलब्ध छन्, तर सर-सफाइ भने नियमित हुन नसकेको अवस्था छर्लङ्ग हुने। ‘नर्थ इष्टर्न रेल्वे’ तर्फबाट हरेक डब्बाका ढोका-चोटामा सूचना टाँसिएको छ जसमा यात्रुले कुनै प्रकारको कठिनाइ परेमा फोन गरेर सहायता लिन सकुन् भनेर मोबाइल नम्बरहरू दिइएको छ।
तर उदेकलाग्दो कुरो चाहिँ त्यसमा प्रयोग भएको भाषा हो। ‘त्वरित निस्तारण केन्द्र’। यो के रहेछ, बुझ्न त स्थानीय यात्रुलाई समेत गाह्रो हुँदो हो। अंग्रेजीमा ‘क्वीक रेस्पोन्स सेण्टर’ लाई हिन्दी तुल्याएपछिको रूप यस्तो हुने रहेछ! कुनै बखत सुनिएको थियो रेल्वे ट्रेनलाई हिन्दीमा ‘लौह पथ गामिनी’ भनिन्छ भनेर। उस बेला रेल्वे ईञ्जिन कोइलाबाट चल्थ्यो-धूवाँ उडाउँदै। अचेल बिजुलीको बलले गुड्छ त्यसैले रेलसेवा निकै सफा भएको छ।
दुई दिन-दुई रात दगुर्दो रेलमा यात्रा गर्दाका मीठा क्षण र रमाइला प्रसङ्गहरू पनि प्रशस्त आए। ठूलो डब्बामा छरिएर बसेका भए पनि पहेंलो टोपी (क्याप) को प्रयोगले हामी सदैव एक-अर्काका निकट थियौं। अनि सबैकी अभिभावक हुनुहुन्थ्यो ८२ वर्षीय लक्ष्मीदेवी अधिकारी। गोविन्द अधिकारीको दोहोरो जिम्मेवारी थियो- कान्छो छोराको नाताले आमालाई सुविस्ता गराउनु र टोली संयोजकको हैसियतले सहयात्रीहरूको हेरचाह गर्नु। कतै पानीका बोतल पुगेनन् कि? कतै खानेकुराको चाँजो मिलेन कि? कतै बसाइको ठाउँ असजिलो भयो कि? सकेको गर्नुभयो, कुनै बेला आफैं बिरामी पर्नुभयो। उहाँकी पत्नी खिना गाह्रो-साँगुरो फुकाउन उत्तिकै तत्पर।
मुख्य कुरो ८२ वर्षकी आमाका चनाखा नजर। उहाँले निरन्तर सहयात्रीका सुविधा-असुविधाबारे चासो-चिन्ता राख्ने, सबैको हौसला बढाउने। त्यस्तोमा उहाँभन्दा कम उमेरका टोली-सदस्यहरूले के गुनासो गर्नु ? साथमा भाइ शिशिर र बुहारी निलिमा भएको हुनाले हामी (म र मन) दम्पत्तीले त्यसै पनि अतिरिक्त सेवा र सुविधा पाइरहेका थियौं। रेलसेवाले प्रदान गर्ने ओढ्ने-ओछ्याउने सबै धोएर राखेका पुलिन्दाबाट झिकिन्थ्यो। पुग-नपुग के होला भनेर आफूले लगेका वस्त्र पनि छँदै थिए। घरबाट हिंड्दा सबैजसो सदस्यले खानेकुराका झोलामा केही-न-केही स्वादिला खाद्यवस्तु बोकेको हुनाले तिनको भरपूर उपयोग गर्ने अवसर पाइयो। एक-आपसको चिनारीलाई निकट र घनिष्ठ बनाउने मौका सबैले पाए। गोरखपुर छोडेको तेस्रो दिन अपरान्ह कोचुवेली स्टेसनमा पुग्दा हाम्रो लागि छानिएका पथप्रदर्शक (गाइड) मुम्बई-निवासी सन्तोष स्वागतको लागि उभिईरहेको भेट्यौं। हाम्रो टोली दक्षिण भारतमा रहुञ्जेल उनी साथमा रहने जानकारीले हाम्रा संयोजकको तनाउ स्वतः केही घट्ने भयो।
*****
शयनमुद्रामा विष्णु
समुद्रीतटमा रहेको राज्य केरलको राजधानी शहर तिरुअनन्तपुरम् (त्रिवेन्द्रम्का) अनेक आकर्षण रहेछन्। तर हाम्रो तीर्थेटोलीको लागि मुख्य दर्शनीयस्थल नै श्री पद्मनाभस्वामीको मन्दिर थियो। भगवान् विष्णुका एक अवतार मानिने पद्मनाभस्वामी शयनमुद्रामा हुनुहुन्छ। यो मन्दिर भारतका सम्पन्न (धनी) मन्दिरहरूमा गणना हुन्छ। सुन,चाँदी, हीरा,तामालगायतका अनेक धातुहरू यस मन्दिरको स्वामित्वमा छन् भनिन्छ। यसै इलाकामा रहेको अजीमाला शिव मन्दिरमा पनि दर्शनार्थी भएर पुग्यौं।
अर्को गन्तव्य भयो कन्या कुमारी। रेलयात्राबाट थाकेका थियौं, बस चढेर दृष्यावलोकन गर्दै बाटो लागियो। तामिलनाडु राज्य मातहतको यो स्थान भारतको सबैभन्दा दक्षिणमा पर्ने भू-भाग हो। भारतीय नेताहरूले भाषण गर्दा आफ्नो देश ‘कश्मीरदेखि कन्या कुमारीसम्म’ फैलिएको चर्चा गर्न बिर्संदैनन्। हिन्दमहासागर, अरब सागर र बंगालको खाडी सबैतिरका जलको सङ्गम। यहींबाट देखिने सूर्यास्तको दुर्लभ दृष्य हेर्न जानेहरूको ताँती थियो। कन्या कुमारीलाई शक्तिपीठ मानिन्छ र यससँग सम्बन्धित अनेक किंवदन्ती रहेछन्। कन्या कुमारीले राक्षस वाणासुरको वध गरेको कथा रहेछ। मन्दिरको दर्शनमा पस्ने पुरुषहरूलाई शरीरको माथिल्लो भाग खुला राख्न लगाउने नियमको पालना अरूसरह हामीले पनि गर्यौं।
कन्या कुमारीको अर्को आकर्षण भनेको स्वामी विवेकानन्दले ध्यान गर्न बसेको भनिने ठूलो ढुङ्गो। भनिन्छ, सन् १८९२ मा ती भारतीय दार्शनिक विवेकानन्द पौडेर समुद्रमा रहेको त्यस ढुङ्गोसम्म पुगे र तीन दिनसम्म ‘राजयोग’ नामको ध्यानमा संलग्न भए। तत्पश्चात् नै उनले आफ्नो जीवन मानवसेवा कार्यमा समर्पण गर्ने निधो गरे। कन्या कुमारीको मन्दिरबाट आधुनिक डुङ्गा (Ferry) चढेर १० मिनेट जतिमा पुगिने रहेछ त्यो विशाल शिलामा। वरिपरि फन्को मार्यो,अनि जलयात्रा गर्दै फेरि फर्कियो। जलयात्राबाट ओर्लिएको ठाउँबाट बिहानपख सूर्योदय हेर्ने चलन पनि रहेछ। पर्यटनलाई व्यवसाय गराउनेहरूले अनेक उपाय निकाल्नु अनौठो भएन।
तीर्थयात्राको सूचीमा परेको यसपछिको पवित्रस्थल भयो रामेश्वरम्। ४० वर्षभन्दा अघि पिताजीको स्वास्थ्योपचारको लागि भेलोर अस्पताल गएका बखत बीचमा उब्रेको समयको उपयोग गर्दै मदुराईबाट समुद्रमाथि बिछ्याइएको लिगबाट गुड्ने सानो रेल चढेर बिहानीपख रामेश्वरम् पुगेका थियौं। तीर्थयात्रीहरू त थिए तर ठूलो घुइँचो थिएन। सम्झेसम्म, त्यस बेला २८ कुण्डको जलमा नुहाएका थियौं, त्यो अचेल २२ कुण्ड भएको पाइयो। उस बखत रामनाथस्वामीको दर्शन नजिकैबाट गर्न पाइएको थियो, यसपल्ट दुईशय रूपिञाको टिकट किनी ‘विशेष’ को लाममा उभिएर पनि निकै टाढाबाट दर्शन गरी चित्त बुझाउनु प-यो।
सांस्कृतिक आयाम
हिन्दुस्थानमा भएका १२ वटा ज्योतिर्लिङ्गमध्ये यो एक भएकोले यहाँको शिवमन्दिरले खास महत्व राख्दछ। त्यत्ति मात्र होइन, रामेश्वरम् प्रचलित मान्यता अनुसारका चार धाममध्ये एक धाम समेत हो। अन्य तीन धामको चर्चा गर्नेहरूले बद्रीनाथ, द्वारका र जगन्नाथ पुरी भन्न छुटाउँदैनन्। गणतन्त्र घोषित गरिएपछिको परिस्थिति केही भिन्न भयो, अन्यथा रामेश्वरम् हिन्दुस्थानका त्यस्ता केही पवित्रस्थलमा पर्दछ जहाँ नेपालका राजालाई मन्दिरको गर्भगृहभित्रै प्रवेश गरेर पूजाआजा गर्न अनुमति दिइन्छ। मन्दिरका पूजारीबाहेक त्यो अधिकार पाउने नेपाल नरेश मात्र हुन्। कूटनीतिज्ञ एवं लेखक डा. मदनकुमार भट्टराईका अनुसार, नेपालका राजालाई जगन्नाथ पुरीमा पनि यो विशिष्ट सुविधा उलपब्ध छ। बद्रीनाथ र द्वारका पनि अपवादमा पर्दैनन्। कोलकोताको काली मन्दिर र आसामको कामख्या मन्दिरमा पनि नेपालका राजालाई विशेष पूजाको सुविधा प्रदान गर्ने परम्परा छ।
रामेश्वरम् वरपरका दर्शनीय स्थल हेर्ने सिलसिलामा हाम्रो टोलीका सदस्यले पम्बन टापूमा रहेको ए.पी.जे. अब्दुल कलामको जन्मस्थान पनि हेर्ने मौका पाए। माछामार्ने माझीको पेशामा रहेको परिवारमा जन्मेका कलाम आफ्नो अध्ययन र मेहनतको आधारमा देशकै ख्यातिप्राप्त वैज्ञानिक भए। सन् २००२ मा उनी देशको राष्ट्रपति नै भए र पाँच वर्ष सो पदमा रहे। सन् २०१५ मा उनको निधन भयो। उनको सानो गाउँ अचेल उनकै नामको कारण बाक्लो बस्ती भैसकेको रहेछ।
रामेश्वरम्बाट प्रस्थान गर्दा पनि सर-सामानसहित बसमै सवार भइयो।
यसपल्टको गन्तव्य हुँदैथियो तामिलनाडु राज्यकै मदुराई जहाँ विख्यात् मीनाक्षी अम्माको मन्दिर अवस्थित् छ जहाँ मीनाक्षीलाई पार्वती मानेर छेउमै अवस्थित् सुन्दरेश्वर महादेव बसेका। चलन अनुसार, पहिले मीनाक्षीको र त्यसपछि सुन्दरेश्वरको दर्शन गरियो। केही बेर पहिलेको वर्षा रोकिएको थियो, तसर्थ वातावरण स्वच्छ भेटियो। लाममा उभिनुपर्ने बाध्यताबाट भने कसैले उम्किन पाउँदैनथ्यो। हुल्याहा,छुल्याहा र मिचाहा त जहाँ पनि अपवाद भैगए। बिहान रामेश्वरम्को होटलबाट मागेर ल्याएको अंग्रेजी छापा ‘द हिन्दू’ साथमा थियो, बेलुकी मदुराई रेजीडेन्सीमा बास बस्दा पढ्ने समय निकालें। आजभोलि अखबार पढ्ने चलन भारत र नेपालमा मात्र होइन संसारैभरि घटेर गएको छ, खासगरी हात-हातै ‘स्मार्ट’ बोक्ने प्रचलन बढेपछि। पछि बङ्गलुरु (बङ्गलोर) स्टेसनतिर पत्रिका बिक्रेता पनि भेटियो। किनेर पनि पढियो।
ओल्लो बासबाट पल्लो बास, देव-देवीहरूको दर्शन। अनि फेरि रेल वा आफ्नो सानो बस। यस्तै तीव्र दौडको क्रममा तामिलनाडुमै पर्ने श्री रङ्गनाथस्वामी (विष्णु)को दर्शन गरियो। त्यहाँ एकपछि अर्को प्रवेशद्वार पार गर्दै गएर सबैभन्दा सिरानमा रहेको मन्दिर पुग्दाको खास प्रकारको अनुभव बटुलियो। त्यस्तै अनुभव तिरुपति बालाजी (विष्णु) मन्दिरमा पनि भयो।
वास्तवमा, एकैदिनमा तिरुपतिमा वेङ्कटेश्वरको दर्शन गर्ने योजना सहज थिएन। तर राहदानी बोकेका विदेशी दर्शनार्थीलाई तीनशय भारतीय रुपिञा शुल्क तिरेमा ‘स्पेसल दर्शन’ गर्न पाउनेहरूको लाममा उभिन पाइने सहुलियत रहेछ। त्यसको प्रतीक्षालयमा बस्दा खाजा टर्ने परिमाणको प्रसाद खान पाइयो, उपलब्धि त्यही भयो । त्यसबाहेक अरू के थियो र ‘विशेष’? केही पनि थिएन। किनभने ‘विशेष’ दर्शनार्थीले पनि केही मिटरको दूरी हिंडेपछि सर्वसाधारण (निःशुल्क) कै समूहमा मिसिनु पर्ने हुन्थ्यो। र, ठेलम्ठेल गर्दै अघि बढेपछि मात्र दर्शन गर्ने विन्दुमा पाइला हाल्न पाइन्थ्यो। दिउँसो दुई बजे प्रवेश गरेको, दर्शन गरेर निस्कँदा राति आठ बजिसकेको थियो। मन्दिरको लागि चढाउने रुपिञा पैसा ‘हुण्डी’ नामक ठूलो भाँडोमा खसाल्नू भन्ने सूचना ठाउँ ठाउँमा थियो र ‘हुण्डी’ पनि मन्दिर परिसरमा जताततै थिए। तर कतिपय दर्शनार्थी दर्शन गर्ने ठाउँनेर नै भेटी चढाउने लक्ष्य लिएर जाँदा रहेछन्। परन्तु मूर्तिनजिकै उभिएका कर्मचारीले त्यस्ता सोझा दर्शनार्थीको हातबाट पैसा खोसेरै आफ्नै थैलीमा हाल्दा रहेछन्। यसरी भगवान्कै रोहबरमा उहाँले पाउनुपर्ने भेटी अरूले नै आफ्नो बनाएको देखियो। के धर्म के पाप?
लड्डुको स्वाद
तिरुपतिको मन्दिरबाट फर्किनेले जनही एक लड्डू प्रसाद पाउँछन्। थप चाहनेले खरीद गर्दा हुन्छ।अर्थात् यो बेग्लै व्यापार हो। तिरुपतिका लड्डु अखाद्य घिउमा बनाइएको हुन थालेछ भनेर भारतीय प्रेसले भण्डाफोर गरेको केही महिना मात्र भएको छ। तर त्यस दिन तिरुपतिका लड्डु काउण्टरमा देखिएको भीडले त्यो समाचारबाट मानिस सजग भएजस्तो लागेन। शायद सर्वसाधारणको स्मृतिपटल (पब्लिक मेमोरी) मा यस्ता कुरा धेरबेर अड्दैनन् भन्ने मान्यता सही हो। अनि, दर्शनार्थीहरूको निधारमा भगवान्को नाम अङ्कित विशेष टीका लगाइदिने र पैसा असुल्ने व्यवसाय पनि मन्दिर परिसरमा फस्टाएको पाइयो। पहिले हतार-हतारमा केही पनि नसोधीकन टीका लगाइदिने र पछि प्रति टीकाको बीस रुपिञाभन्दा कम पैसा लिँदै नलिने। परन्तु धनी मन्दिरहरूमध्येको एक भएकोले शायद तिरुपतिका सञ्चालकहरूलाई यी बाहिरी गतिविधिबारे खास चासो नहुँदो होला।
तीर्थयात्राको कार्यक्रम तय हुँदै गर्दा सत्य साईबाबाको जन्मस्थल पुट्टपर्थी पनि प्रस्तावित भएकोले हाम्रो अभिरुचि बढेको थियो। साईबाबाको प्रत्यक्ष दर्शन पाउने समयमै त्यता पुग्ने मनसुवा थियो, तर अनुकूल परेन। यसपालि भने त्यहाँ पनि पुग्ने सम्भावना देखिएकोले तीर्थ जाने रहर गरेका हौं। आध्यात्मिक गुरुको रूपमा दशौं लाख शिष्यहरूले सुनेका र मानेका व्यक्तित्व साई बाबाको सामीप्य पाउने अपेक्षा थियो-उतिखेर अर्थात् सन् २०११ अगावै। जे भए पनि यसपालि त्यहाँ पुग्ने धोको पूरा हुनै लागेको थियो। हाम्रो टोलीका सदस्यहरूलाई दक्षिणतर्फको तीर्थयात्रा पुट्टपर्थीमा पुगेर समाप्त हुने कुराको जानकारी यात्रामा निस्कनुभन्दा पहिले नै भैसकेको हो, सन्देह थिएन। तर यात्राको यही चरण चाहिँ तीर्थालुहरूको लागि केही असहज हुन गयो। तिरुपतिबाट बस चढेर २२७ किलोमिटरको दूरी केही घण्टामा पार गरी पुट्टपर्थी पुग्न सकिँदो रहेछ। तर काठमाडौंमा बसेर योजना बनाउनेहरूले तिरुपतिबाट राति ११:१० बजेको रेल चढेर भोलिपल्ट बिहान ४:४८ बजे (पाँच घण्टा ३८ मिनेटपछि) धर्मावरम् स्टेसनमा ओर्लिने तालिका तय गरेका रहेछन्। तदनुसार, ओर्लिएपछि करिब-करिब सुनसान देखिने धर्मावरम् स्टेसनमै झोक्राएर बस्नुपर्ने र सात बजेतिर स्थानीय बस आएपछि करिब एक घण्टामा पुट्टपर्थीको होटल दाखिल हुन पाइने हिसाब-किताब रहेछ।
वास्तवमा समस्याको थालनी तिरुपति स्टेसनबाटै भयो-बाकस,सुटकेस र झोलाहरू स्टेसनमा उकाल्ने,सबै मालवस्तु घिसार्दै एक प्लाटफर्मबाट अर्कोतिर दगुर्ने लगायतका चटारा आइपरे। कुल्लीहरूको सेवा लिन सकिंदो हो तर तिनको ज्यालाको माग अत्यधिक चर्को हुने र हाम्रो पक्षका संयोजकसँग स्थलगत सम्झौता गर्ने अनुभवको कमी। स्थानीय गाइड सन्तोष पनि यस मामिलामा खास सहयोगी हुन सकेनन्।
शारीरिक अवस्था कमजोर भएका तीर्थालुलाई सबल र तन्नेरी (उमेरदार) ले सहयोग नगरे रेलका डब्बा चिनेर उक्लिनै कठिन। यता बल्लतल्ल उक्लिएमा उता गन्तव्य स्टेसनमा ओर्लिन महाप्रलय हुने। समय-सारिणी हेर्न सिपालु भाइ शिशिर र पवन अधिकारी भन्छन्:–धर्मावरम्मा त ट्रेन जम्मा दुई मिनेट मात्र रोकिने रहेछ। ओर्लिन कसरी भ्याउने? सबैजना चिन्ताग्रस्त। त्यस्तो तनाउमा आँखा लाग्ने कुरै भएनस धर्मावरम् स्टेसन पुग्ने बेलामा कदाचित् निदाइयो र रेल अघि बढेछ भने फेरि के अवस्था होला ? आदि इत्यादि तर्क-तरङ्ग। साथै, स्थानीयस्तरको यात्रा त हो नि भनेर होला, बस्न मात्र मिल्न सीट र त्यो पनि शीतताप नियन्त्रित नभएको (नन्-एसी) डब्बाको टिकट लिइएको रहेछ। थपमा, त्यो परेछ हरेक साना ठूला स्टेसनमा रोकिंदै रोकिंदै अघि बढ्ने ‘लोकल’ श्रेणीको रेलगाडी। यिनै कारण र परिस्थितिले बढी कष्ट सहन गाह्रो महसूस गर्ने तीर्थालुले असन्तुष्टिको अभिव्यक्ति दिनु स्वाभाविक हुनगयो। साथमा रहेका गाइड सन्तोषलाई पनि शायद यो बन्दोबस्त ठीक लागेको थिएन, तर ऊसँग पनि त्यस चरणमा गोविन्द अधिकारीलाई दिन सकिने व्यावहारिक सुझाउ वा विकल्प थिएन। स्पष्ट भयो, स्थानीय स्तरको यात्रा रेल वा बस जुन माध्यमबाट गरे तापनि दिनको समयमा गराउने हिसाबले बनाइनु पर्थ्यो। यस पक्षमा आयोजकहरूको ध्यान नपुगेकै हो।
साईको सन्देश
निर्धारित सात बजेको समयमा पुट्टपर्थीको होटल पुगेपछि थाहा भयो, आन्ध्रप्रदेश राज्यको त्यो इलाका सत्य साई बाबा नामको जिल्ला नै रहेछ। साई बाबा मानवता, प्रेम र शान्तिको सन्देशद्वारा लाखौं मानिसलाई सत्कार्यमा अग्रसर गराउने व्यक्तित्व हुनाले उहाँको नामबाट एउटा विश्वव्यापी अभियान चल्दै आएको छ। साई बाबा केन्द्रहरू नेपाललगायत धेरै देशहरूमा छन्। मूलथलोमा रहेको सभाकक्षमा सञ्चालित ध्यान,भजन कार्यक्रममा सहभागी भइयो। सहभागी हुन प्रवेश गर्नेहरूले पूरा बाहुला भएको माथ्लो लुगा र पूरा गोडा छोपिने अधोवस्त्रको लगाउनु पर्ने नियम रहेछ। महिला,पुरुष दुबैले नियमको परिधिमा रहनु पर्ने कुरो स्पष्ट भयो। केरलाको श्री पद्मनाभनमा धोती लगाउने नियम भएजस्तै धेरैजसो मन्दिरमा शरीरका अङ्ग खुला राखेर ‘आधुनिकता’ जनाउने तडक्भडक्का पहिरनमा नियन्त्रण र निग्रानी गरेको देखियो, बुझियो। शिष्टाचार, मर्यादा र अनुशासनबारे त्यताको समाज सजग रहेछ।
पुट्टपर्तीबाट बङ्गलुरु (बङ्गलोर) पुगेर गोरखपुर फर्किने रेलगाडीमा सवार हुने बेला नजिक-नजिक आयो। यता आउँदाको दुःख-कष्ट-हैरानी सम्झेर टोलीका सबैजसो सद्स्यले धर्मावरम् स्टेसन हुँदै बङ्गलुरु जाने विचार त्यागे, विकल्प खोजे। तदनुसार सडकको बाटो समात्ने निर्णय भयो। यसो गर्दा बेलैमा बङ्लुरु पुगियो र बेलुकीको प्रस्थानको लागि मानसिक रूपमा तयार हुन सजिलो प-यो। यशवन्तपुर रेल्वे स्टेसनबाट गोरखपुर जाने रेलगाडीको समय थियो १८ डिसेम्बरको राति ११:४० बजे। तर फेरि एकपल्ट वल्लो प्ल्याटफर्मबाट सबैभन्दा पल्लोमा नपुगीकन धर नपाइने भयो। जल, प्रसादका पोका थपिएपछिका मालमत्ता, झोला-झाम्टा छुट्लान् भन्ने चिन्ता। तै त्यस बखतसम्म आफ्नो टोलीका सद्स्यका मालताल कुन कुन हुन् भनेर सबैले मोटामोटी तवरबाट चिनिसकेको अवस्था थियो। उचाल्ने-पछार्ने झण्झट भने छँदै थियो। पवन, भूमिका, नेत्र पौडेल, शिशिर,हरिचरण सुवेदी पहिले-पहिलेजस्तै आफ्नो असुविधाको परबाह नगरीकन सबै सर-सामान बटुल्न र हाम्रो साझा डब्बामा सुरक्षित राख्न तन्मयका साथ जुटेको हुनाले बेलैमा आ-आफ्ना सीट ओगट्न पुगियो। गोरखपुरसम्मको रेलयात्रा यस पटक ४३ घण्टा १५ मिनेटको हुने समय-सारिणीले देखायो। गोरखपुरमा बास बस्ने होटलको टुङ्गो भईसकेकोले आगामी दुई दिनको रेलयात्रा सहजताका साथ बित्ने अनुमान गरियो।
कार्यक्रम अनुसार, हिन्दुस्थान छोड्नुअघि दर्शन गर्नुपर्ने एकमात्र देवता हुनुहुन्थ्यो गोरखपुरस्थित् गोरखनाथ। त्यसका लागि गोरखपुर पुगेको भोलिपल्ट सबेरै गोरखनाथ मठ पुग्ने अठोट भईसकेको थियो। त्यसपछिको बसयात्राले हामीलाई सुनौली हुँदै भैरहवा प्रवेश गराउने अपेक्षा गरिएकै थियो।
प्रसङ्गवश, सन् २०१४ देखि गोरखनाथ मठका महन्त रहेका योगी आदित्यनाथ नै सन् २०१७ देखि हालसम्म उत्तर प्रदेशका मुख्यमन्त्री छन्। गोरखनाथको सम्बन्ध गोरखा र गोरखाली राजपरिवारसँग छ भनिन्छ। त्यसैले होला, योगीलाई हिन्दूबहुल देश नेपालप्रति उल्लेख्य सद्भाव राख्ने व्यक्तित्व भनेर चिनिन्छ, मानिन्छ।
नेपाल फर्किने व्यग्रता बोकेको यस तीर्थालु समूहका सबै १८ सदस्य यतिञ्जेलसम्ममा एक-अर्कासँग राम्ररी परिचित भईसकेका थिए। एक हिसाबले एउटै परिवारका हिस्सा बनिसकेका। कोही सानो परिवारका साथ थिए भने कोही दम्पत्तीको रूपमा सहयात्रु बनेका। एकल पुरुष र एकल महिला पनि समावेश। पेशागत पृष्ठभूमिमा पनि रहरलाग्दो विविधता। ७३ वर्षीय ज्योति अधिकारीसँग ३० वर्षभन्दा बढी कृषि विकास बैंकमा काम गरेको अनुभव रहेछ भने ज्योति दम्पत्तीका छोरा पवन र बुहारी भूमिका युवापुस्ताका प्रतिनिधि पात्र हुन्। पवनलाई त कलियुगका श्रवणकुमार भनिदिए पनि फरक नपर्ला। माता-पिताको सेवा र अतुलनीय भक्तिबारे दृष्टान्त दिनुपर्दा लिइने नाम हो श्रवणकुमार जसले बा-आमालाई खर्पनमा बोकेर तीर्थाटन गराएका थिए। उनको कहानी त्रेतायुगको रामकथासित पनि जोडिन्छ।
मित्र नेत्र पौडेल समूहमा एकदम छिटो घुलमिल हुने र सहयोगका लागि हरघडी प्रस्तुत रहने सज्जन। आफ्नो सुविधामा भन्दा सहयात्रीको भोक-प्यास र सुविस्तामा ध्यान दिने व्यक्ति। नेपालका दर्जनौं जिल्ला डुलेका, अनुभवी। देखे-भोगेका घटना र प्रसङ्ग सुनाउन सङ्कोच नगर्ने स्वभावका। ध्यान दिएर सुन्ने श्रोतागण थियौं हामी बाँकी सदस्य।
नेपाल प्रवेश गरेपछि सुन्ने,सुनाउने कुरा कम हुँदै गए। बिग्रे-भत्केको सडकले दोहोरो संवादलाई त्यसै पनि सजिलो हुन दिएन। लोलाएका आँखा, थाकेको शरीर, बाटोमा बटुलिएको रूघा-खोकी। उपत्यकामा बढेको पुसको ठिहीको तर्कना। सारमा, पहेंलो क्यापवालाहरू त्यसै-त्यसै मुर्झाएका। नौबीसेबाट थान्कोट उक्लिन लागेको अतिरिक्त समयको थप असर।
येनकेन प्रकारेण यात्राको मैजारो भयो।
भैरहवामा शनिवार दिउँसो चढेको ‘टुरिष्ट बस’ ले काठमाडौंको कलङ्की टेक्दा मध्यरात हुन लागिसकेको थियो। फेरि एकपल्ट ओर्लिने र ओराल्ने चटारो’
सबै तस्बिर लेखकबाटै