वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ७० ले गुमाए ज्यान

हिमाल प्रेस २२ पुष २०८१ २१:४०
8
SHARES
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ७० ले गुमाए ज्यान फाइल तस्बिर।

काठमाडौँ- नेपालमा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट ८३ जनाले ज्यान गुमाएका छन्। यस्तै जनावरको आक्रमणबाट पाँच सय ९९ जना घाइते भएका प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले तीमध्ये सबैभन्दा बढी सर्पले डसेर मृत्यु तथा घाइते भएको बताए। उनका अनुसार सर्पले डसेर मात्रै ७० जनाको मृत्यु भएको छ भने पाँच सय ३२ जना घाइते भएका छन्।

यस्तै गैंडाको आक्रमणबाट चार जनाको मृत्यु र १४ जना घाइते तथा बाघको आक्रमणबाट तीन जनाको मृत्यु र २४ जना घाइते भएका छन्। हात्तीको आक्रमणबाट ६ को मृत्यु र १४ जना घाइते तथा भालुको आक्रमणबाट १५ जना घाइते भएको पनि प्रहरीले जनाएको छ।

मुख्यगरी निकुञ्ज आसपास क्षेत्रका बस्तीमा वन्यजन्तुको आक्रमण हुने गरेको छ। जंगलमा घाँस दाउरा लिन र जंगली तरकारी खोज्न जाँदा वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएको जनाइएको छ। पछिल्लो समयमा भने वस्तीमै प्रवेश गरी वन्यजन्तुले हानि पुर्‍याउने गरेका छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकालले आहाराको खोजी र विभिन्न कारणले वस्तीमा प्रवेश गर्ने वन्यजन्तु नियन्त्रणका लागि निकुञ्जले काम गरिरहेको बताए।

पछिल्लो २४ घण्टामा पनि जनावरको आक्रमणका घटना भएका छन्। ज‌ंगली हात्ती बस्तीमा प्रवेश गरी मोरङको सुन्दरहरैचा नगरपालिकामा दुई जनाको घर भत्काएर खाद्यान्न खाइदिएको र दमकमा पनि हात्तीले एक घर भत्काएको प्रहरीले जनाएको छ।

यस्तै बर्दिया, रौतहट र पाल्पामा पनि जंगली जनावरले घर तथा बाली नष्ट गरेको छ। भालुले आक्रमण गर्दा पाल्पामा एक जना घाइते भएका प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए। रासस

प्रकाशित: २२ पुष २०८१ २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast