ड्रागन बोट रेसमा चिनियाँ टिमलाई दोहोरो उपाधि

हिमाल प्रेस १५ पुष २०८१ १९:५९
16
SHARES
ड्रागन बोट रेसमा चिनियाँ टिमलाई दोहोरो उपाधि

पोखरा– पोखरा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण ड्रागन बोट रेसमा चिनियाँ टोलीले उपाधिमा क्लीन स्वीप गरेको छ। फेवातालमा आइतबार र सोमबार भएको २०० र ५०० मिटर इभेन्ट रेसको दुवैतर्फ पाहुना टोलीले उपाधिमा कब्जा जमाएको हो। नेपाली टिम उपाधिविहीन भयो।

२० टिमले भाग लिएको प्रतियोगितामा डोङग्वान लाओयू क्लबले दोहोरो उपाधि जित्यो। २०० मिटर रेसमा उसले निर्धारित दूरी पार गर्न ४७.७२० सेकेण्ड लगायो। सोही इभेन्टमा चीनकै युन्नान मिन्जु युनिभिर्सिटी दोस्रो भयो। उसले निर्धारित दूरी ४८.२२० सेकेण्डमा पूरा गरेको हो। चीनकै लाइओचेङ युनिभर्सिटी टिमले उक्त दूरी ५०.८३० सेकेण्डमा पूरा गरी तेस्रो भयो।

यस्तै, ५०० मिटरको रेसमा उपाधि जितेको डोङग्वान लाओयू क्लबले निर्धारित दुरी २.०४.४७० मिनेटमा पूरा गरेको थियो। लाइओचेङ युनिभर्सिटीको टिम दोस्रो भयो। उसले निर्धारित दूरी २.०७.३४० मिनेटमा पूरा गरेको थियो।

यस्तै, २.०८.४४० मिनेटमा दूरी पार गरी युहान स्पोर्टस् युनिभर्सिटी तेस्रो भएको ड्रागन बोट एसोसिएसन गण्डकी प्रदेशका सचिव विवेक भुजेलले जनाए।

२०० मिटर र ५०० मिटर दूरीको विजेता समूह डोङग्वान लाओयू क्लबले ५/५ हजार अमेरिकी डलर (नेपाली करिब ६ लाख ७९ हजार) प्राप्त गरेको छ।

उपविजेताले २ हजार डलर (नेपाली करिब २ लाख ७१ हजार) र तेस्रो हुनेले १२०० डलर (नेपाली करिब १ लाख ६३ हजार) नगदसँगै प्रमाणपत्र र ट्रफी पुरस्कार प्राप्त गरेका छन्। सहभागी सम्पूर्ण टोलीलाई पाँच सय डलर (नेपाली करिब ६८ हजार) नगद पुरस्कार दिइयो।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनीज एसोसिएसनको सहआयोजनामा पोखरामा दोस्रोपल्ट यो फेस्टिभल आयोजना भएको हो।

संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्दै यसप्रकारका खेलले पोखराको पर्यटन प्रबद्र्धनमा मात्रै नभई नेपाली र चिनियाँ नागरिकबीच सुमधुर सम्बन्ध कायम गर्न सघाउने बताएका थिए।

२० टिममा नेपालका ११, चीनका ८ र सिंगापुरका १ टिमले भाग लिएका हुन्। एउटा टिममा १२ जना खेलाडी सहभागी थिए। तीमध्ये एक जनाले चाइनीज ड्रम बजाउने र सोही तालमा अन्य खेलाडीहरूले डुंगा खियाउँदै निर्धारित दूरी पूरा गरेका हुन्।

विजेता टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपालका लागि चीनका राजदूत छन् सोङलगायतले पुरस्कार वितरण गरे।

ड्रागन बोट रेसमा सहभागी हुने चीनियाँ खेलाडी, प्राविधिक र पाहुनासहित १ सय २९ जनालाई बोकेर सिचुवान एयरलाइन्सको विमानको गत ११ पुसमा चीनको छिन्चुबाट चार्टर उडानमार्फत पोखरा आएको थियो।

यो खेल चीनको प्रमुख चार परम्परागत पर्वमध्येको एक हो। परम्परागत चिकित्सा र स्वास्थ्य उत्सवको रुपमा मनाइने ड्रागन बोटरेस फेस्टिभल पोखराको फेवातालमा गत असारमा पनि भएको थियो।

प्रकाशित: १५ पुष २०८१ १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast