जनकपुर बोल्ट्सले भन्यो : समर्थकमाथि नश्लीय टिप्पणी गर्नेलाई कारबाही होस्

हिमाल प्रेस १० पुष २०८१ १२:००
10
SHARES
जनकपुर बोल्ट्सले भन्यो : समर्थकमाथि नश्लीय टिप्पणी गर्नेलाई कारबाही होस्

काठमाडौँ- जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरूद्धको फाइनल खेलका क्रममा आफ्ना समर्थकमाथि भएको दुर्व्यवहारको भत्र्सना गरेको छ।

जनकपुर बोल्ट्सका समर्थकहरू विशेष गरी मधेशी समुदायप्रतिको उसले भत्र्सना गरेको हो। जनकपुर बोल्ट्सले आफ्ना समर्थकमाथि आक्रमण र नश्लीय टिप्पणी गर्नेहरूलाई कानुन दायरमा ल्याएर कारबाही गर्न सरकार र प्रहरीलाई आग्रहसमेत गरेको छ।

‘आफ्नो क्रिकेट टिमको समर्थन गर्ने नाममा साम्प्रदायिक भावना देखाउँदै अर्को टिमका समर्थकमाथि आक्रमणमा उत्रिने, देश र समुदायलाई लिएर अराजकता देखाउने, रंग रुप र जातीयताका आधारमा विभेद गर्ने, विभेदकारी र नश्लीय टिप्पणी गर्नेलाई कानुनको दायरमा ल्याएर कारबाही गर्न हामी सरकार र प्रहरी प्रशासनसँग अनुरोध गर्दछौँ,’ जनकपुर बोल्ट्सले भनेको छ।

यस्ता घटना आगामी दिनमा नहोहोरिन दिन नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानले आवश्यक कदम चाल्ने आफूहरूले विश्वास लिएको उसले बताएको छ। एनपीएलको पहिलो संस्करणमा उपाधि जिताउन सहयोग गर्ने समर्थक, प्रायोजक, साझेदार, प्रशिक्षण टोलीलगायतप्रति जनकपुर बोल्ट्सले आभार प्रकट गरेको छ।

आगामी वर्षका लागि गृहकार्य सुरु गरिसकेको बताउँदै जनकपुर बोल्ट्स आगामी दिनमा पनि च्याम्पियन बनिरहने विश्वास टिम व्यवस्थापकले लिएका छन्।

‘जनकपुर बोल्ट्स मैदानभित्र र मैदान बाहिरको प्रभुत्व कायम राख्न सफल हुनेछ अनि आगामी दिनमा पनि च्याम्पियन बनिरहनेछ,’ जनकपुर बोल्ट्सले भनेको छ,‘आगामी वर्ष हामी अझ वृहत् रूपमा आउने विश्वास दिलाउन चाहन्छौँ, त्यसका लागि हामीले केही गृहकार्य पनि सुरु गरिसकेका छौँ।’

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै पहिलो एनपीएलको उपाधि जितेको हो। फाइनल खेल जनकपुर बोल्ट्सले जितेपछि क्रिकेट मैदानबाहिर उसका समर्थकमाथि सुदूरपश्चिम रोयल्सका केही समर्थकहरूले कुटपिट गर्नुका साथै अपमानजनक टिप्पणी गरेका थिए।

जनकपुर बोल्ट्सका समर्थकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बैतडीका दुई जनालाई पक्राउसमेत गरिसकेको छ।

विजयोत्सव मनाउन जनकपुर बोल्ट्स शुक्रबार जनकपुर जँदै

एनपीएलको पहिलो संस्करणको च्याम्पियन टिम जनकपुर बोल्ट्स मधेश प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने भएको छ।गत शनिबार सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै उपाधि हात पारेको जनकपुर बोल्ट्सले मधेश प्रदेशका आठवटै जिल्लामा विजयोत्सव मनाउने तयारी गरेको हो।

विजयोत्सवको सुरूवात र अन्त्य जनकपुरबाट गर्ने तयारी जनकपुर बोल्ट्सले गरेको छ। यसका लागि शुक्रबार साँझ जनकपुर पुग्ने तयारी बोल्ट्स टिमको छ। जनकपुर बोल्ट्सका कार्यकारी निर्देशक निरज खतिवडाले मधेश प्रदेशको आठवटै जिल्लामा
विजयोत्सव मनाउने तयारी गरिएको जानकारी दिए।

‘एनपीएलमा हामीले समग्र मधेश प्रदेशका साथै अधिकांश क्रिकेट प्रशंसकहरूको समर्थन पाएका छौँ,’ खतिवडाले हिमालप्रेससँग भने,‘जनकपुर बोल्ट्सले मधेशलाई प्रतिनिधित्व गर्ने भएकाले यो प्रदेशका आठवटै जिल्लामा विजयउत्सव मनाउने तयारी गरेका छौँ।’

उनले यसका लागि शुक्रबार साँझ जनकपुर पुग्ने तयारी रहेको बताए। खतिवडाका अनुसार जनकपुर–१४ रजौलमा निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट र्‍याली निकालेर जानकी मन्दिरमा टुंग्याउने कार्यक्रम तय भएको छ। ‘शुक्रबार जनकपुर पुग्ने योजना बनाएका छौँ,’ उनले भने,‘सबेरै पुगिए त्यही दिन नभए शनिबार बिहान र्‍याली निकाल्ने तयारी छ। रामजानकी रंगशालाबाट र्‍याली निकालेर जानकी मन्दिरमा अन्त्य गर्ने अहिलेसम्मको योजना छ।’

कार्यकारी निर्देशक खतिवडाले जनकपुरको  सकिएर महोत्तरी र त्यसपछि पश्चिमका जिल्लाहरू सर्लाही, रौतहट, बारा र पर्सा पुग्ने कार्यक्रम तय भएको जानकारी दिए। पर्सामा र्‍याली सकेर जनकपुर बोल्ट्सको पूर्वका जिल्लाहरू सिरहा र सप्तरी पुग्ने कार्यक्रम छ। खतिवडाले भने,‘जनकपुरबाट सीधै पश्चिमका जिल्लाहरू जानेछौँ। त्यसपछि पूर्वका सिरहा र सप्तरी सकेर पुनः जनकपुर पुगी समापन र्‍याली निकाल्ने कार्यक्रम तय भएको छ।’

टिमका विदेशी खेलाडीहरू फर्किइसकेकाले स्वदेशी सबै खेलाडीहरू विजयउत्सवमा सहभागी हुनेगरी कार्यक्रम बनाइएको उनले जानकारी दिए। ‘विदेशी खेलाडीहरू फर्किसक्नु भएको छ। टिमका स्वदेशी खेलाडीहरू मात्रै हुनुहुन्छ,’ उनले भने,‘कतिपय आ–आफ्नो घर जानुभएकोछ, सबै जना सहभागी हुने गरी समन्वय गरिरहेका छौँ।’

प्रदेशका आठवटै जिल्लामा र्‍याली निकाल्न र त्यसको व्यवस्थापनका लागि मधेश प्रदेश क्रिकेटसँग समन्वय भइरहेको खतिवडाको भनाइ छ।

र्‍यालीमा को–को सहभागी हुने, क–कसलाई आमन्त्रण गर्ने यसका लागि मधेश प्रदेश क्रिकेटसँग समन्वय गरिरहेका छौँ,’ उनले भने,‘जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्षलगायतका व्यक्तिहरूलाई सहभागी गराउने योजना बनाइएको छ।’ त्यस्तै र्‍यालीमा सहभागी हुन प्रदेशका मुख्यमन्त्री, मन्त्री र प्रदेश सांसदहरूलाई पनि निमन्त्रणा गर्नेगरी तयारी भइरहको उनले बताए।

प्रकाशित: १० पुष २०८१ १२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast