छबिको बयान सकियो, रविको अझै सुरु भएन

हिमाल प्रेस ९ पुष २०८१ २०:१०
20
SHARES
छबिको बयान सकियो, रविको अझै सुरु भएन

पोखरा- पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मंगलबार पनि बयान सुरु हुन सकेन। गोर्खा मिडियाका पूर्व सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशीको बयान सकिएको छ भने गुल्मी मुसिकोट नगरपालिका–४ की लीला पछाईंबाट बयान प्रारम्भ भएको जिल्ला अदालतका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेले जानकारी दिए। पछाईंलाई जीबप् राईसँग मिलेर रकम हिनामिना गरेकाले मुद्दामा प्रतिवादी बनाइएको छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दाका लामिछानेसमेत ५ जना प्रतिवादीहरूको सोमबारदेखि कास्की जिल्ला अदालतमा बयान सुरु भएको थियो। पहिलो दिन जोशीबाट बयान सुरु भएकामा दोस्रो दिन मंगलबार पनि जोशीबाटै बयान सुरु भएको थियो।

बयानका लागि मंगलबार बिहान ११ बजे लामिछाने, जोशी, पछाईंसहित नेचर हर्ब्सका सञ्चालक तनहुँका रामबहादुर खनाललाई अदालत उपस्थित गराइएको थियो। अर्का कृष्णबहादुर गुरुङ भने मुटुको बिरामी परकाले अदालत लगिएनन्।

प्रतिवादीहरूलाई विगतमा झैं गैह्रापाटनस्थित जिल्ला प्रहरी कार्यालयबाट कडा सुरक्षा घेराबीच सहिदचोकस्थित जिल्ला अदालत लगिएको थियो।

पहिलो दिनको बयान नसकिएकाले मंगलबार जोशीबाटै बयान प्रारम्भ गरिएको निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेले बताए। उनका अनुसार दिउँसो २ सम्म जोशीको बयान सकिएपछि लीला पछाईंको बयान प्रारम्भ भएको छ।

नेपालकै सबैभन्दा कान्छा न्यायाधीश नीतिज राईको इजलासमा भएको बयानमा पछाईंको बयान नसकिकाले अर्को दिन उनीबाटै बयान प्रारम्भ गरिने लामिछानेले जानकारी दिए। उनले भने, ‘यही साता (शुक्रबार) सम्म प्रतिवादीहरुको बयान सकेर आइतबारदेखि थुनछेक बहस सुरु गर्ने लक्ष्य छ। हेरौं बयान कति लम्बिन्छ?’ उनका अनुसार पछाईंकोपछि सम्भवतः रवि लामिछानेको बयान सुरु हुनेछ। बुधबार सार्वजनिक बिदा परकाले अब बिहीबारदेखि बयान सुरु हुनेछ।

प्रतिवादीहरूको बयान, थुनछेक बहसपछि न्यायाधीश राईले कुनै एक आदेश दिनेछन्। जसमा पुर्पक्षका लागि थुनामा, धरौटी वा साधारण तारेखमा रिहामध्ये एक आदेश गरिने कानुनी व्यवस्था छ।

कास्की जिल्ला अदालतमा पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सहकारी ठगी मुद्दा विचाराधीन छ। गत १८ असोज, २०८० मा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएको थियो।

कास्की प्रहरीको पछिल्लो अनुसन्धान प्रतिवेदनसँगै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार र आइतबार गरी सोही मूल मुद्दामा थप प्रतिवादी बनाई पूरक अभियोगपत्र दायर गरेको हो।
आइतबार दायर पूरक अभियोगपत्रमा रास्वपा सभापति लामिछाने, जोशीसमेत ४४ जनालाई प्रतिवादी बनाइएको छ। तीमध्ये ३१ जना व्यक्ति, ८ कम्पनी छन्। अन्य ५ जनाको सम्पत्ति जफत गर्न थप अभियोजन दर्ता गरिएको थियो।

कुल ६३ प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो कायम गरेर दायर मुद्दामा हिरासतमा रहेका ५ प्रतिवादीको बयान लिन थालिएको हो।

सम्पत्ति शुद्धीकरण मुद्दासमेत चलाइएका ५ जनामा लामिछाने, जोशी, जीवी राई, रामबहादुर खनाल र लीला पछाईं हुन्।

सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ, प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याल लगायत प्रतिवादीहरु हाल पुर्पक्षका लागि कास्की कारागारमा छन्। जीबीसमेत अधिकांश प्रतिवादीहरु भने हालसम्म फरार छन्।

प्रकाशित: ९ पुष २०८१ २०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast