वाइडबडी खरिदमा नेपाली अधिकारीलाई घुस दिने एएआर कर्पमाथि ५५ मिलियन डलर जरिबाना

हिमाल प्रेस ९ पुष २०८१ १०:३५ | Tuesday, December 24, 2024
वाइडबडी खरिदमा नेपाली अधिकारीलाई घुस दिने एएआर कर्पमाथि ५५ मिलियन डलर जरिबाना

काठमाडौँ- नेपाल वायुसेवा निगम (नेवानि) लाई २०१८ मा दुईवटा एयरबस ए३३०-२०० विमान आपूर्ति गरेको एएआर कर्पलाई अमेरिकी न्याय विभागले ५५ मिलियन डलर जरिबाना गरेको छ। दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियाका लागि नेपालका अधिकारीहरूलाई घुस दिएको अभियोगमा एएआर कर्पलाई जरिबाना गरेको हो।

‘इलिनोइसको वुड डेलमा मुख्यालय रहेको सार्वजनिक विमान सेवा कम्पनी एएआर कर्पले नेपाल र दक्षिण अफ्रिकाका सरकारी अधिकारीहरूलाई घुस दिने भ्रष्ट योजनामा संलग्न भएको विदेशी भ्रष्टाचार अभ्यास ऐन (एफसीपीए) उल्लंघन गरेको सम्बन्धमा न्याय विभाग र सिक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) को अनुसन्धान गर्न ५५ मिलियन डलरभन्दा बढी तिर्नेछ,’ विभागले सोमबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेवानिले २०७३ चैत २५ (अप्रिल ७, २०१७) मा दुईवटा ए ३३०-२०० का लागि २०९.६ मिलियन डलरको सम्झौतामा हस्ताक्षर गरेको थियो। यो नेपालको  इतिहासमै सबैभन्दा ठूलो विमान खरिद सम्झौता थियो। नेवानिका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार र एएआर कर्पको आपूर्ति समूहका अध्यक्ष दीपक शर्माले सम्झौतामा हस्ताक्षर गरेका थिए। शर्माले विमान खरिद सम्झौतामा हस्ताक्षर गर्न नेपाली अधिकारीलाई घुस दिएको अमेरिकी न्याय विभागसमक्ष स्वीकार गरिसकेका छन्।

विशेष अदालतले मंसिर १९ गते दुईवटा वाइडबडी जहाज खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा ११ जनालाई दोषी ठहर गरेको थियो। विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह र ऋतेन्द्र थापाको इजलासले विमान खरिद सम्झौताबाट सरकारलाई १ अर्ब ४७ करोड रुपैयाँको नोक्सानी भएको ठहर गरेको छ।

अदालतले एएआर अधिकारी शर्मासहित हाई फ्लाई एक्स आयरल्यान्ड लिमिटेडका क्रिस्टियन न्युहलेन र जर्मन एभिएसन क्यापिटलका ओलेग क्यालिस्त्रुलाई १८ महिना कैद र प्रत्येकलाई १२ करोड २५ लाख ९० हजार रुपैयाँ जरिबाना सुनाएको छ।

विमान खरिद सम्झौतामा हस्ताक्षर गरेपछि एएआर कर्पले विमान आपूर्तिका लागि हाई फ्लाई एक्स र जर्मन एभिएसन क्यापिटललाई साथमा लिएको थियो।

प्रकाशित: ९ पुष २०८१ १०:३५ | Tuesday, December 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast