काठमाडौँ- लामो समय मधेशकेन्द्रित राजनीति गरेका हृदयेश त्रिपाठी फेरि मधेशी एकताको एजेन्डामा छन्। उनले केही दिनअघि मात्रै मधेस केन्द्रित दललाई सहकार्यका लागि आह्वान गरेका छन्।
अध्यक्ष त्रिपाठीले विज्ञप्ति जारी गर्दै मधेश केन्द्रित दललाई सहकार्यको प्रस्ताव राखेका हुन्। उनले जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी लगायतका दलहरुलाई सहकार्य गर्न अनुरोध गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख छ। विग्रिदो अर्थतन्त्र झन् गिर्दो अवस्थामा छ तथा यो गति निरन्तर हासोन्मुख छ। ग्रामीण जनजीवन अनक्रान्त छ। जनतामा रहेको आशावाद खस्किँदो अवस्थामा छ। नैराश्यता वढ्दो छ। वस्तुत यस अवस्थाप्रति चिन्तित हुने राजनैतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको जनता प्रगतिशील पार्टी, नेपालको ठहर छ।’
मधेश केन्द्रित दलहरुबीचको सहकार्यलाई अघि बढाउन डा शिवजी यादवको संयोजकतवामा पूर्वमन्त्री ईश्वर दयाल मिश्र तथा मोहम्मद साबिर हुसेन सम्मिलित वार्ता टोली समेत गठन गरेका छन्।
विभाजित मधेशकेन्द्रित दल मिलाउनुपर्नेमा हृदेयेश
२०६२/०६३ को जनआन्दोलनपछि बनेका मधेश केन्द्रित दल अहिले विभाजित छन्। एउटै एजेन्डा लिएर पनि छुट्टाछुट्टै दल बनेका छन्, मधेशमा। यसैले मधेशकेन्द्रित दलको एजेन्डा कमजोर भएको त्रिपाठ्ठीको दाबी छ। उनी अहिले यिनै दल मिलाउन लागेका छन्।
त्रिपाठी पनि कहिले विगतमा मधेश लोकतान्त्रिक पार्टीमा लागे त कहिले नेकपामा। अहिले जनता प्रगतिशील पार्टी, नेपालको घोषणा गरेका छन्।
त्रिपाठीले २०६३ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारमा मन्त्री रहेकै बेला राजीनामा दिएर महन्थ ठाकुरको नेतृत्वमा गठित तराई मधेश लोकतान्त्रिक पार्टीको सहअध्यक्ष बनेका थिए।
उनी २०७४ सालको निर्वाचनमा स्वतन्त्र राजनीतिक विचार समूहका नाममा नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट सूर्य चिह्न लिएर चुनाव लडेका थिए।
सूर्य चुनाव चिह्नबाट चुनाव जितेर सांसद बनेका उनी एमालेको नेतृत्वमा बनेको सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्री बने।