हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख भक्तपुरमा छोरासँगै मृत फेला, हत्या भएको आशंका

हिमाल प्रेस ८ पुष २०८१ १५:५२ | Monday, December 23, 2024
हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख भक्तपुरमा छोरासँगै मृत फेला, हत्या भएको आशंका प्रतीकात्मक तस्बिर।

काडमाडौँ– जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य भक्तपुरमा छोरासहित मृत फेला परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका हुन्।

हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख आचार्य छोरासँगै भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा मृत फेला परेको खबर आफूसँग आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।

हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा आएका थिए। बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोरा हत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

आचार्य बाबुछोराको शरीरमा चोट देखिएको र सँगै बसिरहेका जेठा छोरा सम्पर्कविहीन हुनुमा घटना शंकास्पद बनेको मृतकका आफन्त एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका गोपाल आचार्यले बताए।

गएराति तीन बाबुछोरा खाना खाएर सुतेका र सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको आफन्तले बताएका छन्।

उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। शवमा चोटपटक भेटिएको र बाहिरबाट ताला लगाएकाले उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

उनीहरुको शव भाडाको कोठाबाट निकालेर परीक्षणका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। बिदामा बसेका निमित्त कार्यालय प्रमुख आचार्यको मृत्यु हुनाका कारण अहिलेसम्म खुल्न नसकेको प्रहरीको भनाइ छ।

प्रकाशित: ८ पुष २०८१ १५:५२ | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast