रविलाई सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख बिगो माग

हिमाल प्रेस ७ पुष २०८१ १५:१५
40
SHARES
रविलाई सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख बिगो माग रवि लामिछाने ।फाइल तस्बिर

पोखरा- पूर्व उपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा विभिन्न ३ मुद्दा दायर भएको छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ मुद्दामा सजाय र बिगो माग दाबी गर्दै अभियोगपत्र दायर भएकोमा सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ बिगो माग दाबी गरिएको हो। त्यस्तै, गोर्खा मिडियामा उनका साझेदार छविलाल जोशीलाई सम्पत्ति शुद्धीकरण मात्र ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबी गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सूचना अधिकारी सहन्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार लामिछानेलाई फरक–फरक मुद्दामा फरक–फरक बिगो माग दाबी छ। सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले भनिन्, ‘कसूर अनुसार फरक फरक छ, त्यो अभियोगपत्रमा डिटेल आउँछ। सहकारी ठगीको एउटा छ अनि सम्पत्ति शुद्धीकरणको एउटा छ। संगठित अपराधको एउटा छ। फेरि एकीकृत कसूर फरक हुन्छ। राष्ट्र बैंक ऐन पनि छ।’

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार कास्की जिल्ला अदालतमा रविसमेत ४४ जनालाई प्रतिवादी बनाएर पूरक अभियोगपत्र दायर गरेको हो। तीमध्ये केही कम्पनि पनि छन्।

पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतका मुद्दामा थप ४४ जनालाई प्रतिवादी बनाएर कुल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरिएको हो। सूर्यदर्शन सहकारी ठगी मुद्दामा यसअघि १९ जनालाई प्रतिवादी बनाएर गत वर्ष १८ असोजमा दायर गरिएको मुद्दामा शुक्रबार थप दाबी, थप कसूर र थप संलग्नता सहित अभियोगपत्र दायर भइसकेको छ। आइतबार दायर पूरक अभियोगसहित कुल ६३ जना प्रतिवादी पुगेका छन्।

सहन्यायाधिवक्ता शर्माका अनुसार सहकारी ठगीमा ३१ जना, संगठित अपराधमा १९ जना र सम्पत्ति शुद्धीकरणमा ४ जनालाई प्रतिवादी बनाइएको छ। विभिन्न ८ वटा कम्पनी विरुद्ध पनि मुद्दा दायर छ। ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने भन्दै मुद्दा दायर छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा आइतबार दायर ४ जना प्रतिवादीमध्ये लामिछाने, जोशसहित रामबहादुर खनाल र लीला पछाई छन्। यसअघि शुक्रबार नै सहकारी संस्थापक अध्यक्ष जिबि राई सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी, संगठित अपराध र नेपाल राष्ट्र बैंक ऐनबमोजिम सजाय माग गर्दै थप मुद्दा दायर भइसकेको छ।

प्रकाशित: ७ पुष २०८१ १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast