मुम्बईको तटमा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु, पाँच जना बेपत्ता

हिमाल प्रेस ३ पुष २०८१ २१:३६
8
SHARES
मुम्बईको तटमा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु, पाँच जना बेपत्ता फाइल तस्बिर

काठमाडौँ– मुम्बईको तटमा बुधबार साँझ एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ। करिब ७७ जनालाई उद्धार गरिएको छ र बेपत्ता अन्य पाँच जनाको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

अधिकारीका अनुसार पाँच चालक दलका सदस्यसहित ८५ जना चढेको डुङ्गा एलिफेन्टा टापुतर्फ जाँदै गर्दा साँझ ६ः३० बजे कारंजाको उरान नजिकै दुर्घटना भएको हो।

दुई जनाको शव फेला परेको छ भने खोजी कार्य भारतीय कोस्ट गार्ड (आईसीजी) जहाजले गरिरहेको छ। ‘मुम्बईको तटमा डुङ्गा दुर्घटनामा ७७ जनाको उद्धार गरिएको छ भने दुई जनाको शव निकालिएको छ,’ कोस्ट गार्डले जानकारी दिएको छ।

मुम्बई म्युनिसिपल कर्पोरेशन (बीएमसी) का अनुसार जहाजमा चालक दलका सदस्यसहित कुल ८५ यात्रु थिए। ‘पाँच जना बेपत्ता छन्। उद्धार गरी अस्पतालमा भर्ना गरिएका पाँच जनाको अवस्था गम्भीर छ। बाँकीको अवस्था स्थिर छ,’ बीएमसी अधिकारीहरूले बताए।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले भने,‘हामीले एलिफन्टातर्फ गइरहेको नीलकमल डुङ्गा दुर्घटना भएको खबर प्राप्त गरेका छौँ। नौसेना, तटरक्षक र प्रहरी टोलीबाट डुङ्गा तुरुन्तै सहायताको लागि पठाइएको छ। हामी जिल्ला प्रहरी प्रशासनसँग निरन्तर सम्पर्कमा छौँ। अधिकांश यात्रुको उद्धार गरिएको छ। यद्यपी उद्धार कार्य जारी छ। सञ्चालनका लागि आवश्यक सबै स्रोत परिचालन गर्न जिल्ला प्रशासनलाई निर्देशन दिइएको छ।’

यसैबीच, महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले अधिकारीहरूलाई भारतीय तटरक्षक र स्थानीय पुलिसद्वारा सुरु गरिएको उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिए।

प्रकाशित: ३ पुष २०८१ २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast