पोखरा- सहकारी ठगीमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानलाई थप ४ दिन म्याद भएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि म्याद हद ९० दिन रहेकामा अन्तिमपटक ४ दिन म्याद थप भएको हो। उनलाई योसहित नवौं पटक म्याद थप भएको हो। शुक्रबार ४ दिन म्याद समेत सकिने भएपछि आइतबार मात्र उनलाई अदालतमा फेरि उपस्थित गराइनेछ। त्यसबेलासम्म सम्भवत अभियोगपत्र दायरस हुनेछ।
मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासको इजलासले लामिछानेसमेत ५ जनालाई थप ४ दिन म्याद थप गर्ने आदेश दिएको हो।लामिछानेसहित गोर्खा मिडियाका पूर्व उपाध्यक्ष पूर्व डिआईजी छविलाल जोशी, गिजेन्द्रबाबु (जीवी) राईका साझेदार नेचर हब्र्सका सञ्चालक तनहुँका रामबहादुर खनाल, जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोप लागेकी गुल्मी मुसिकोट नगरपालिका–४ की लीला पछाईं र सहकारीका संचालक समितिका पूर्व सदस्य कृष्ण गुरुङ हाल प्रहरी हिरासतमा छन्।
सोमबार मात्र लामिछानेलाई विभिन्न तीन मुद्दामा सजाय गर्नुपर्ने माग दाबीसहित कास्की प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि दुई महिनाअघि पक्राउ परेका लामिछानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने राय दिएको छ। उनीसहित विभिन्न ५१ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित ती प्रतिवादीहरुबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो असुल गर्नुपर्ने माग दाबी रहेको जनाइएको छ।