अहिलेकै अवस्थामा एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन छ : महासचिव पोखरेल

हिमाल प्रेस २९ मंसिर २०८१ २०:०२ | Saturday, December 14, 2024
अहिलेकै अवस्थामा एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन छ : महासचिव पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको बताएका छन्।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय संगठन विभागको आयोजनामा ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने कार्यशालाको आज उद्घाटन गर्दै उनले पार्टीको नीति जनतासम्म पुर्‍याउन तथा वैचारिक राजनीतिक संघर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको बताए।

महासचिव पोखरेलले अहिले पार्टीको जुन ढुंगले काम भइरहेको छ,यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने बताए। उनले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताए।

महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले पार्टी निर्माणमा सहयोग गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्ने बताए।

उनले पार्टीको वार्षिक कार्ययोजनाका बारेमा अभिमुखीकरण गर्दै पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने आधारहरू र सम्पादित कामका बारेमा सहभागीको ध्यानाकर्षण गराए।

महासचिव पोखरेलले मिसन-२०८४ मा आधारित वार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट पार्टीलाई नभएको बताए। यस सन्दर्भमा पार्टी सदस्यता नवीकरण सर्वाधिक महत्त्वपूर्ण काम भएको भन्दै महासचिव पोखरेलले पार्टी कमिटीले युवा तथा महिलाको क्षेत्रमा विशेष महत्त्वका साथ काम नगरेको बताए।

प्रकाशित: २९ मंसिर २०८१ २०:०२ | Saturday, December 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast