काठमाडौँ- सरकारले सीप विकास तालिमलाई प्राथमिकतामा राखेर काम गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताएका छन्। आज राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै मन्त्री भण्डारीले सीप विकास तालिमबिना रोजगारी सिर्जना गर्न समस्या हुने बताए।
सरकारले वैदेशिक रोजगारी र आन्तरिक श्रम बजारलाई मध्येनजर गर्दै सीप विकास तालिम सञ्चालन गरिरहेको उनले बताए। ‘सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले काम गरिरहेको छ। त्यहीअनुसार बजारमा आवश्यक जनशक्ति उत्पादन गर्नेगरी तालिम सञ्चालन भइरहेको छ। आगामी दिनमा प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर तालिम सञ्चालन गरिने छ,’ उनले भने।
बजारमा श्रमिकको अभाव छ। तर सरकारले यस विषयमा ध्यान नदिँदा विदेशी श्रमिकको भरमा आन्तरिक श्रम बजार चलाउनुपर्ने बाध्यता भएको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बताए।
नेपाली युवा विदेश गइरहेका छन्। ३८ लाखभन्दा बढी विदेशी श्रमिक नेपाल आएर काम गरिरहेको उनले बताए। ‘फोहोरदेखि मोहोरसम्म काम गर्ने भारतीय र बंगाली कामदार छन्। नेपालीहरू रोजगारी नपाएको भन्दै विदेशी गइरहेका छन्। १० जना कामदार आवश्यक भारतमा खोज्न जानुपर्ने बाध्यता छ,’ उनले भने।
सरकारले व्यवस्थापन र सीप विकास तालिम सञ्चालनमा पारदार्शीता नदेखाउँदा अहिलेको समस्या आएको उनले औंल्याए। कार्यक्रमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकार र निजी क्षेत्रको सहकार्यमा सीप विकास तालिम सञ्चालन गर्नुपर्ने बताए। निजी क्षेत्रले कति र कस्ता श्रमिकको माग हुन्छ त्यही अनुसार जनशक्ति उत्पादनतिर लाग्नुपर्नेमा उनले सुझाव दिए।