काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका लागि आवश्यक शिक्षासम्बन्धी ऐनलाई छिटो ल्याउनुपर्ने बताएका छन्।
बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित शिक्षा नीति बहसलाई सम्बोधन गर्दै देउवाले शिक्षा क्षेत्रलाई थप बलियो बनाउनका लागि आवश्यक शिक्षासम्बन्धी ऐनलाई छिटो ल्याउनुपर्ने बताए।
उनले भने,‘शिक्षा ऐन जतिसक्दो छिटो ल्याउन नेपाली कांग्रेसले सहयोग गर्छ।’
उनले उच्च शिक्षा हासिलका लागि विदेशीनुपर्ने अवस्थालाई रोक्नका लागि नेपालमा नै उच्च शिक्षाको गन्तव्य बनाउनुपर्नेमा जोड दिए।
देउवाले स्वदेशी मात्रै नभइ विदेशी विद्यार्थीहरूलाई समेत नेपालमा आएर शिक्षा प्राप्त गर्ने वातावरण बनाउनुपर्ने बताए।
उनले युवालाई स्वदेशमै रहने वातावरण मिलाउन र शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्नका लागि पाठ्यक्रममा आवश्यक सुधार गर्नुपर्ने धारणा राखे।
एकवर्ष अगाडि पनि सभापति देउवाल संघीय शिक्षा ऐन जारी गर्नुपर्ने बताएका थिए। उनी आफैँले सत्ताको नेतृत्वमा रहँदा ऐन जारी गर्न ढिलाइ भएको थियो।
अहिले उनको पार्टी नेपाली कांग्रेस सत्ता साझेदार छ। तर पनि शिक्षा ऐन जारी गर्न र शिक्षक–कर्मचारीका माग पूरा गर्न गम्भीर नदेखिएको शिक्षासम्बद्ध सरोकारवालाहरू बताउँछन्।