उपनिर्वाचन : नेसपा नयाँ शक्तिको लज्जास्पद उपस्थिति, कहीँ पनि जोगिएन धरौटी

रमेश दवाडी १९ मंसिर २०८१ १७:२२
194
SHARES
उपनिर्वाचन : नेसपा नयाँ शक्तिको लज्जास्पद उपस्थिति, कहीँ पनि जोगिएन धरौटी

काठमाडौँ- डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा लज्जास्पद हार व्यहोरेको छ। नेसपा नयाँ शक्तिले एक गाउँपालिकामा अध्यक्ष, एक नगरपालिकामा मेयर, एक नगरपालिकामा उपप्रमुख र एक वडाध्यक्षमा उम्मेदवारी दिएको थियो। तीमध्ये कुनै उम्मेदवारले पनि धरौटी जोगाउन नसकेका हुन्।

नेसपा (नयाँ शक्ति) बाट कीर्तिपुर नगरपालिकाको प्रमुखमा दिलकुमार महर्जन, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा रामकुमार चौधरी, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा पवित्रा जैसी र गोरखा नगरपालिका वडा नम्बर ५ मा रुपेश मग्राती पराजित भएको निर्वाचन आयोगको अन्तिम नतिजा विवरणमा उल्लेख छ। धरौटी जोगाउन निर्वाचनमा खसेको कुल मतको १० प्रतिशत ल्याउनुपर्ने कानुनी व्यवस्था छ।

निर्वाचन आयोगका अनुसार ग्रामथान गाउँपालिका अध्यक्षका लागि उम्मेदवार भएका रामकुमार चौधरीले १५ मत ल्याएका छन्। सो पदमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी ६ हजार ९६९ मत ल्याई निर्वाचित भए। उक्त पालिकामा १८ हजार २०७ मत सदर भएको थियो।

कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका कृष्णमान डंगोलले ५ हजार ३३४ ल्याई निर्वाचित हुँदा नेसपा (नयाँ शक्ति) का दिलकुमार महर्जनले ५१ मत ल्याए। कीर्तिपुर नगरपालिकामा २० हजार ७६७ मत सदर भएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ।

जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख पदमा पनि नेसपा नयाँ शक्तिको दयनीय अवस्था देखियो। उपप्रमुख उम्मेदवार पवित्र जैसीले १७ मत ल्याइन्। यस पालिकामा माओवादी केन्द्रकी देवका लामिछानेले ४ हजार २७२ मत ल्याउँदै निर्वाचित भइन्। निर्वाचनमा १० हजार २१५ मत सदर भएको थियो।

नेपा नयाँ शक्तिले गोरखा नगरपालिका-५ को वडाअध्यक्षमा पहिलोपटक उम्मेदवार उठायो। उम्मेदवार थिए रूपेश मग्राती। उनले १० मत प्राप्त गरे। वडामा एक हजार ३५५ मत सदर भएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ।

उक्त वडालाई पार्टी अध्यक्ष डा. भट्टराईको प्रतिष्ठासँग समेत जोडेर चर्चा गरिएको थियो। गोरखा बाबुरामको गृहजिल्ला हो। बाबुराम आफैँ पनि उक्त क्षेत्रमा चुनाव प्रचार गएका थिए। यस ठाउँमा नेकपा माओवादी केन्द्रका विष्‍णुबहादुर मगरले ४८६ मत ल्याई निर्वाचित भए।

नयाँ शक्तिका स्थानीय नेताहरूले भने वडा नम्बर ५ मा नयाँ शक्तिको बीजारोपण भएको र पार्टीको पक्षमा जनमत बढाउन अब नयाँ योजना ल्याउनुपर्ने बताएका छन्। जनमतमा कमजोर भए पनि ‘विचारमा कमजोर’ नभएको तर्क नेताहरूको छ।

उपचुनावमा लज्जास्पद हार व्यहोर्नुको अर्को कारण पार्टीकै नेताहरू स्वार्थी प्रवृत्ति रहेको नेताहरू बताउँछन्। नयाँ शक्ति गोरखाका एक नेता भन्छन्, ‘पार्टीमा स्वार्थका झुन्ड बढी भए। भट्टराईले सामूहिक कुरा नसुनिदिने समस्या पनि हो। दुःखमा जोडिन नचाहने, सुखमा मात्र जोडिने सदस्य छन्। विधि र प्रक्रिया छन् त्यसलाई वास्ता गरिएन। जनता दूरदराजमा छन्। बाबुरामको विचार गुम्साएर राख्ने हामी अनि ‘म नेता भन्ने’ बन्छ कसरी पार्टी?’

अर्का स्थानीय कार्यकर्ताले जनतामा चेतनाको कमी भएको बताउँदै भिजनभन्दा भीडको पछि लाग्ने बढी रहेको टिप्पणी गरे।

सबै ठाउँमा उम्मेदवार उठाउन सकेन

४४ पदका लागि निर्वाचन हुँदा नयाँ शक्तिले चार ठाउँमा मात्रै उम्मेदवार उठायो। बाँकी ४० ठाउँमा उम्मेदवारी दिन सकेन। काठमाडौँ महानगरपालिका-१६ मा स्वतन्त्र उम्मेदवारलाई सघायो। तर नतिजा हात परेन।

गत कात्तिक ५ र ६ गते पोखरामा विधान अधिवेशन गरेर ‘वैकल्पिक शक्ति’ को रूपमा परिभाषित गरेको नयाँ शक्तिले उपचुनावमा लज्जास्पद हार व्यहोरेको छ।  जसकारण ‘वैकल्पिक शक्ति’ निर्माण प्रयासमा  कालो बादल मडारिएको नेसपा नेताहरू बताउँछन्।

हतोत्साही भएका छैनौँ : प्रवक्ता शर्मा

नेसपा नयाँ शक्तिका प्रवक्ता कृष्ण शर्माले उपचुनावको नतिजाबाट आफूहरू हतोत्साही नभएको बताए। पुराना राजनीतिक शक्तिले विचार र एजेन्डाभन्दा पनि मतदातालाई भोजभतेर र पैसा खर्च गरेर चुनाव जितेको उनले दाबी गरे। शर्माले हिमालप्रेससँग भने, ‘उपचुनावमा पुरानै राजनीतिक दलको वर्चस्व देखियो। जनताले वैकल्पिक शक्तिको खोजी गरेका छन्। विश्वसनीय शक्ति अझै भेट्टाएका छैनन्। पुराना पार्टीले चुनावमा धेरै खर्च गर्दै मतदातालाई भोजभतेर खुवाएकाले नतिजा ती पार्टीतिरै गर्‍यो।

चुनाव धेरै खर्चिलो हुँदै गएको र यसलाई चिर्न नसकिएको शर्माले बताए। उनले भने, ‘विचार र एजेन्डाको लडाइँ भएको भए जित्थ्यौँ। चुनाव भनेको राजनीतिको उच्चतम् अभ्यास गर्ने थलो हो। त्यसो नभएर पैसा, र्‍यालीजुलुस, अनावश्यक भोजभतेरको प्रतिस्पर्धा भएको हुनाले हामी कमजोर भयौँ। यसलाई चिर्न समय लाग्छ। हामी हतोत्साहित भएका छैनौं। पाठ सिकेका छौँ।’

प्रवक्ता शर्माले  चुनावको नतिजा पुराना पार्टीको पोल्टामा परे पनि जनतामा चरम निराशा रहेको बताए। उनले पटकपटक असफल भएकालाई जनताले एकको विकल्पक अर्को भनेर मत दिएको दाबी गरे। शर्माको भनाइमा नेसपा नयाँ शक्तिले अब जनतामाझ परिचित स्वच्छ छविका जोकोहीलाई पनि चुनावमा उठाउन आह्वान गर्ने बताए।

‘जनताले कांग्रेसको विकल्प माओवादी, माओवादीको विकल्प एमाले भनेजस्तो गरे। राजनीतिक पार्टीमा उम्मेदवार चयन गर्ने जुन विधि पारदर्शी छैन। पार्टीभित्र गुट, गुटभित्र नेता, नेताको स्वार्थ राखेर आफ्नो मान्छेलाई टिकट दिने अवस्था छ। हामीले चाहिँ जनताका बीचमा स्वच्छ छवि भएको मानिस जो छ उसैलाई उम्मेदवार बनाउनेतर्फ जान्छौँ’, उनले भने।

४४ ठाउँमा भएको उपचुनावमा नयाँ शक्तिले चार स्थानमा मात्रै किन उम्मेदवार बनायो भन्ने प्रश्नको उत्तरमा प्रवक्ता शर्माले चुनाव हुने खर्चका कारण जोकोही पनि उम्मेदवार बन्न नचाहेको बताए। उनले भने, ‘चुनाव त पैसासँग जोडियो। चुनाव लड्न पैसा चाहिन्छ, ‘मसँग पैसा छैन। खर्च गर्न सक्दिनँ’ भन्दै उम्मेदवार नै हुन मान्दैनन्।’

नेसपा नयाँ शक्तिका वरिष्ठ नेता भक्तबहादुर शाहले ठूला दलले उपनिर्वाचन जिते पनि समस्या समाधान गर्न नसक्ने बताए। नेसपा नयाँ शक्तिले आफ्ना विचार र एजेन्डा जनतामाझ लैजान र बुझाउन नसकेको भन्दै शाहले अब अभियानकै रुपमा जनतामाझ जाने पनि बताए। ‘राजनीति भनेको आजको आजै परिवर्तन भन्ने स्थिति नबन्ने रहेछ। भ्रष्टहरूलाई जोगाउने खालको नतिजा उपनिर्वाचनमा आएको छ। ठूला दलले चुनाव जित्दैमा समस्या समाधान गरिहाल्छन् भन्ने विश्वास हामीलाई छैन। हाम्रा विचार र एजेन्डा जनतामा लगेर बुझाउन सकिएको छैन।’

वरिष्ठ नेता शाहले अब वैकल्पिक शक्तिका पक्षधरहरूसँग छलफल गरेर अगाडि बढ्ने पनि बताए।

प्रकाशित: १९ मंसिर २०८१ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast