जनकपुरधाम- त्रेतायुगमा भगवान राम र माता सीताबीच विवाह सम्पन्न भएको मान्यताअनुसार जनकपुरधाममा विवाह पञ्चमीको रौनक सुरू भएको छ। हरे वर्ष धुमधाम एवं श्रद्धापूर्वक मनाइने रामजानकी विवाहोत्सवको रौनक जनकपुरधाममा सुरू भएको हो।
हरेक वर्ष झैँ यसपालि पनि जानकी मन्दिरको अगुवाईमा रामजानकी विवाहोत्सव साताव्यापी कार्यक्रमसहित मनाइँदै छ। यसअवसरमा सोमबार फूलबारी लिला र मंगलबार धनुषयज्ञ कार्यक्रम सम्पन्न भएको छ।
विवाहपूर्व भगवान राम र माता सीताको फूलबारीमा भेट भएको मान्यताअनुसार विवाहपञ्चमीको अवसरमा फूलबारी लिला मनाइने गरिन्छ। धनुषयज्ञ र फूलबारी लिला हेर्न ठूलो संख्यामा श्रद्धालुहरू पुगेका थिए। मानवरूपी राम र सीतालाई फूलबारी लिला र धनुषयज्ञमा सहभागी गराइने गरिन्छ।यस्तै विवाहमहोत्सवकै अवसरमा धनुषयज्ञको कार्यक्रम राखिएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए। धनुषयज्ञ कार्यक्रममा भारतको आयोध्याबाट जन्तीका रूपमा आएका साधुसन्तका साथै स्थानीयवासी सामेल भएको उनले बताए।
सीताको विवाहअघि प्राचिन मिथिलाका राजा जनकले शिव धनुष तोड्ने व्यक्तिसँग विवाह गर्ने सर्त राखेका थिए। यही मान्यताअनुसार विवाहपञ्चमीको अवसरमा धनुषयज्ञ कार्यक्रम मनाइने गरिएको छ।
विवाहपञ्चमीको साताव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन सोमबार जनकपुरधाम नगर दर्शन कार्यक्रम सम्पन्न भएको थियो। त्यस्तै धनुषज्ञपछि तिलकोत्सव, पाँचौँ दिन मटकोर छैटौं दिन विवाहोत्सवको मूल कार्यक्रम आयोजना हुनेछ।
रामजानकी विवाहोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको उत्तराधिकारी महन्त दासले जानकारी दिए। महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट जन्तीहरू जनकपुरधाम पुगिसकेको उनले बताए।
त्यस्तै रामजानकी विवाहपञ्चमीमा सहभागी हुन तीर्थालुहरू पुग्ने क्रम सुरू भइसकेको छ। विवाहपञ्चमीमा नेपाल तथा भारतका विभिन्न स्थानबाट लाखौँको संख्यामा तीर्थालु पुग्ने गरेका छन्।
विवाहपञ्चमीमा सहभागी हुने तीर्थालुहरूको वास एवं खानाको व्यवस्था जानकी मन्दिर, राम मन्दिरका साथै स्थानीय संघसंस्था तथा युवा क्लबहरूले गर्ने गरेका छन्।
निजी विद्यालयका संघ संगठनहरूले तीर्थालुहरूको वासका लागि विद्यालयहरूमा व्यवस्था मिलाइएको जनाएका छन्।