तलब बढाउन र सरुवा नगर्न विद्यालय कर्मचारीको माग

हिमाल प्रेस १८ मंसिर २०८१ १३:०८
5.1k
SHARES
तलब बढाउन र सरुवा नगर्न विद्यालय कर्मचारीको माग

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई आफ्ना पेसागत माग र अवस्थाका विषयमा ध्यानाकर्षण गराएको छ। परिषद् राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारीले सोमबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा विद्यालय कर्मचारीको तलब, सरुवा, अवकाश, दरबन्दी र विद्यालय शिक्षा विधेयक-२०८० का विषयमा ध्यानाकर्षण गराएका हुन्।

सो अवसरमा तिवारीले ६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई स्थानीय तहले अवकाश दिन खोजेको हुँदा तत्काल उक्त कार्य नगर्न शिक्षामन्त्रीको ध्यानाकर्षण गराए। ध्यानाकर्षणपछि मन्त्री भट्टराईले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई परिपत्रका लागि सहसचिवलाई निर्देशन दिइन्।

अध्यक्ष तिवारीले ऐनकानुन नबनेसम्म विद्यालय कर्मचारीको सरुवा गर्न नपाउने सम्बन्धी परिपत्र गराउन शिक्षामन्त्री भट्टराईको ध्यानाकर्षण गराएको बताए। अध्यक्ष तिवारीले उच्चस्तरीय दरबन्दी मिलान कार्यदलमा विद्यालय कर्मचरको सेवा, सर्त र सुविधा अनिवार्य समावेश गरी सुनिश्चितता गराउने विषयमा पनि शिक्षामन्त्री भट्टराईको ध्यानाकर्षण गराएका छन्।

शिक्षामन्त्री विद्या भट्टराई विद्यालय कर्मचारीको तलब वृद्धिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग कुराकानी गरिसकेको बताइन्। विगतमा सबै शिक्षक र कर्मचारीको तलब दुई हजार रुपैयाँ बढ्दा विद्यालय कर्मचारीको भने बढाइएन। अध्यक्ष तिवारीले भने, ‘शिक्षामन्त्री भट्टराईले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि तलब वृद्धिबारे टुंगो लाग्ने शिक्षामन्त्रीले जानकारी दिनुभयो।’

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयक-२०८० मा विद्यालय कर्मचारी परिषद्सँग भएका सहमति तथा सम्झौता कार्यान्वयनमा ल्याउन पनि शिक्षामन्त्री भट्टराईको ध्यानाकर्षण गराइएको अध्यक्ष तिवारीले जानकारी दिए।

प्रकाशित: १८ मंसिर २०८१ १३:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast