काठमाडौँ- सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएको छ। सुनमा भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत र चाँदीमा १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको हो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भन्सार विभागले जनाएको छ।
छिमेकी भारतले पहेँलो धातुमा भन्सार महसुल १५ प्रतिशतबाट घटाएर ६ प्रतिशत बनाउने निर्णय गरेपछि नेपालले पनि घटाएको हो। भारतमा भन्सार महसुल परिमार्जनले भारतमा सुन सस्तो भएपछि भारतबाट नेपालतर्फ सुन तस्करी बढेको थियो।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा सुनको आयातमा उल्लेख्य गिरावट आएपछि सरकारले पनि भन्सार महसुल दर घटाउने निर्णय गरेको हो।
नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १ अर्ब ४२ करोडको १३२ दशमलव ५६ किलो सुन आयात गरेको भन्सार विभागले जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब २० करोड रुपैयाँ बराबरको १ हजार केजी ५०० ग्राम सुन आयात भएको थियो।
यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा यस वर्ष निकै कम सुन आयात भएको छ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले असार मसान्तमा ल्याएको आर्थिक वर्ष २०२४/२५ को बजेटमार्फत सरकारले सुनमा भन्सार महसुल १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको थियो।