इटहरी- इटहरीमा मोटरसाइकलमा सवार श्रीमान-श्रीमतीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार (आज) दिउँसो १२ बजेतिर इटहरी १७ बालग्राम चौकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई म्याजिकले ठक्कर दिएको हो।
दुर्घटनामा संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। इटहरीबाट इनरुवातर्फ जाँदै गरेको म्याजिकले पकलीबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो। म्याजिक नम्बर तत्काल पुष्टि भइनसकेको प्रहरीले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए। अहिले घटनास्थलको सीसी क्यामेरा हेरेर घटनामा संलग्न म्याजिकको पहिचान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।