काठमाडौँ- पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ। ८१ वर्षीय ढुंगानाको उपचारका क्रममा आइतबार अपराह्न निधन भएको हो। वरिष्ठ अधिवक्ता यदुनाथ खनालले उनको निधन भएको जानकारी दिएका छन्।
ढुंगानाको काठमाडौँ पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा दिउँसाे २ बजे निधन भएको हो। कलेजाेमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ।
बहुदलीय प्रजातन्त्र स्थापना भएपछि उनी २०४८ सालमा सभामुख भएका थिए। ढुंगाना नेपाल बारका पूर्वमहासचिव र सर्वाेच्च बारका पूर्वअध्यक्षसमेत थिए। २०५१ सालसम्म सभामुख रहेका ढुंगाना त्यसपछि मानवअधिकार र नागरिक अधिकारका आन्दोलनमा सक्रिय भए।
ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन विशेष सक्रियता देखाएका थिए। तत्कालीन राजा ज्ञानेन्द्रले सक्रिय शासन लिएपछि लोकतन्त्र स्थापना र शान्ति प्रक्रियाका लागि उनले अन्य राजनीतिक दल र माओवादीबीच मध्यस्थता गरेका थिए।
त्यति बेला अर्का मानवअधिकारवादी पद्मरत्न तुलाधर र ढुंगानाले नागरिक समाजका तर्फबाट अगुवाइ गरी राजनीतिक दलहरूलाई शान्ति प्रक्रियामा ल्याउन विशेष भूमिका खेलेको वरिष्ठ मानवअधिकारवादी चरण प्रसाई स्मरण गर्छन्। प्रसाईले भने, ‘नेपालको शान्ति प्रक्रिया र मानवअधिकार आन्दोलनमा ढुंगानाले विशेष योगदान दिनुभएको छ।’ तुलाधरको यसअघि नै निधन भइसकेको छ।
ढुंगाना नेपाल मानवअधिकार संगठन र एमनेस्टी इन्टरनेसनल नेपालको संस्थापक सदस्य हुन्। ढुंगाना २०७४ सालको प्रतिनिधिसभा सदस्यका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धी थिए। कांग्रेस उम्मेदवार ढुंगाना एमालेका महेश बस्नेतसँग पराजित भएका थिए।
ढुंगानाका श्रीमती (साहित्यकार भुवन ढुंगाना) र एक छाेरी छन्। ढुंगानाको अन्त्येष्टि सोमबार अपराह्न पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ढुंगानाको निधनप्रति दु:ख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु। नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु।’