मेडिकल कलेजमा आगलागी हुँदा १० नवजात शिशुको ज्यान गयो

हिमाल प्रेस १ मंसिर २०८१ ९:५५
4
SHARES
मेडिकल कलेजमा आगलागी हुँदा १० नवजात शिशुको ज्यान गयो आगलागीपछि झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा लागेको भीड। तस्बिर साभार : पीटीआई

काठमाडौँ- भारतको उत्तर प्रदेश राज्यमा पर्ने झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबार राति भएको आगलागीका कारण १० नवजात शिशुको ज्यान गएको छ।

भारतीय सञ्चारमाध्यमहरूले झाँसीका जिल्ला अधिकारी अविनाश कुमारलाई उधृत गर्दै घटनामा १० नवजातको मृत्यु पुष्टि भएको उल्लेख गरेका छन्। आगो अस्पतालको (एनआईसीयू) मा लागेको थियो।

अविनाश कुमारले सञ्चारकर्मीसँग भने, ‘झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसीयूमा शुक्रबार राति करिब १०४५ बजे आगलागी भएको थियो। आगलागी विद्युत सर्ट सर्किटका कारण भएको आशंका गरिएको छ।’

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले एक्समा पोस्ट गर्दै मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र गम्भीर घाइतेहरूलाई पचास हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

यसैगरी प्रधानमन्त्री कार्यालयले अलग्गै सहायता राशिको घोषणा गरेको छ। भारतीय प्रधानमन्त्रीको कार्यालय एक्समा घटनामा मृत्यु भएका नवजात शिशुहरूको परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई लाख रुपैयाँको सहायता राशि प्रदान गरिने उल्लेख छ। साथै घाइते भएका शिशुहरूलाई ५० हजार रुपैयाँको सहायता राशि दिइनेछ।

शनिबार बिहानै घटनास्थलमा पुगेका उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले भने, ‘हामी परिवारहरूसँग मिलेर शिशुहरूको पहिचान गर्दैछौँ।’ घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिइएको जानकारी उनले दिए।

झाँसीका प्रमुख चिकित्सा अधिकारी सचिन मोहरले अक्सिजन कन्सन्ट्रेटरमा सल्किएर आगो फैलिएको बताए। उनले भने, ‘एनआईसीयू वार्डमा ५४ जना शिशु भएका थिए। अचानक अक्सिजन कन्सन्ट्रेटरमा आगो लाग्यो, जसलाई नियन्त्रणमा लिने प्रयास गरियो। कोठा अत्यधिक अक्सिजनयुक्त भएकाले आगो छिट्टै फैलियो।’ उनले सकेसम्म धेरै शिशुलाई बाहिर निकाल्ने प्रयास गरेको बताए।

मुख्यमन्त्री योगी आदित्यनाथले एक्समा लेखेका छन, ‘झाँसीस्थित मेडिकल कलेजको एनआईसीयूमा भएको दुर्घटनामा बालबालिकाको मृत्यु अत्यन्त दुःखद र हृदयविदारक छ। जिल्ला प्रशासन र सम्बन्धित अधिकारीहरूलाई युद्धस्तरमा उद्धार र राहत कार्य सञ्चालन गर्न अनुरोध गर्दछु। प्रभु श्रीरामसँग प्रार्थना गर्दछु– दिवंगत आत्माहरूको सद्गति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस्।’

राष्ट्रपति द्रौपदी मुर्मूले झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा भएको दुर्घटनामा १० नवजात शिशुहरूको निधनप्रति दुःख व्यक्त गरेकी छन्। उनले एक्समा लेखेकी छन्, ‘झाँसीमा भएको दुर्घटनामा धेरै नवजात शिशुहरूको मृत्युको समाचार अत्यन्त हृदयविदारक छ। ईश्वरले शोकाकुल अभिभावक र परिवारजनलाई आघात सहन गर्ने शक्ति प्रदान गरून्। म घाइते भएका शिशुहरूको शीघ्र स्वास्थ्यलाभको प्रार्थना गर्दछु।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा बालबालिकाको मृत्युप्रति दुःख व्यक्त गर्नुभयो। उनले राज्य सरकारको निगरानीमा स्थानीय प्रशासनले राहत र उद्धारका लागि सबै सम्भव प्रयास गरिरहेको जानकारी दिएका छन्।

भारतीय प्रधानमन्त्री कार्यालयको एक्समा लेखिएको छ, ‘दुःखद्! उत्तर प्रदेशको झाँसी मेडिकल कलेजमा भएको आगलागी दुर्घटना अत्यन्त हृदयविदारक छ। यसमा निर्दोष बालबालिकालाई गुमाउने परिवारप्रति मेरी गहिरो समवेदना। म ईश्वरसँग प्रार्थना गर्दछु कि ती परिवारलाई यो अपार क्षति सहन गर्न शक्ति प्रदान गरून्।’

प्रकाशित: १ मंसिर २०८१ ९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast