काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इमान्दारितापूर्व आत्मसमीक्षा गर्दै समान विचार भएकाबीच साझा मतका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘इतिहासले जसलाई मिल्न भनेको छ, मिल्नुपर्छ, इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ, तिनीहरूसँग मिल्न हुँदैन।’
नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उनको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू जनताको बीचमा निरन्तर जान पाउँदा सहज महसुस गरेको उल्लेख गरे। ठूलो संघर्षबाट ल्याएको व्यवस्थाको आफूलाई चिन्ता लागेको उनको भनाइ थियो।
विचार, राजनीति, लोकतन्त्रबारे विगतमा हुने गरेको बहस तथा प्रभाव उच्चस्तरको रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछिल्ला दिनमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा, स्वार्थ प्रेरित हुँदै गरेको आभास भएको बताए। देशको राजनीतिक र जनताको अवस्थाको चित्रण गर्दा आक्रोश, आवेग, पलायनजस्ता प्रवृत्ति हाबी भएको तथा देश र जनताका लागि कतिबेला केकति आवश्यकता हो भन्नेबारेमा पनि मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए।
वामपन्थ र लोकतन्त्रको मान्यतालाई समायोजित गरेर देशलाई अगाडि बढाउने उद्देश्यका साथ संविधान जारी भएको उनले स्मरण गरे।
जनतामा फैलिएको अराजकतामा टेकेर देशलाई प्रतिगमनतर्फ लैजाने कोसिस सफल नहोस् भन्नेतर्फ पनि उत्तिकै सचेत हुनुपर्ने उनको भनाइ छ। पार्टीको केन्द्रीय सल्लाहकार र प्राध्यापक संघको अध्यक्षका रूपमा हेर्दा ‘अखिल सर’ निष्ठावान कार्यकर्ताका रूपमा चिनेको उनले स्मरण गरे।