जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले अधिकारका लागि फेरि आन्दोलनको अवस्था आउन नदिन सरकारलाई ध्यानाकर्षण गराएका छन्।
शनिबार जनकपुधामस्थित जनकपुर युथ क्लबको वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले संविधानमा उल्लेखित अधिकार प्रदेशलाई हस्तान्तरण गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन्।
संविधानमा व्यवस्था भएअनुसार प्रदेश सरकार हालसम्म अधिकार सम्पन्न हुन नसकेको उनको भनाइ थियो। निधिले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारलाई प्रहरी, कर्मचारी, प्रशासनलगायतका अधिकार प्रत्यायोजन गर्न ढिलाई गर्न नहुने बताए।
‘संविधानमा प्रदेशको आफ्नै प्रहरी प्रशासन हुन्छ भनिएको छ, हामीले संघीयता ल्याएको आठ वर्ष बितिसक्यो अझै प्रदेश सरकारहरू अधिकारसम्पन्न हुनसकेका छैनन्,’ उनले भने,‘प्रदेशलाई अधिकार सम्पन्न बनाउन सकेनौँ भने संघीयताको के अर्थ? चाँडोभन्दा चाँडो प्रदेशले पाउने अधिकार प्रत्यायोजन गर्न सरकारसँग मेरो आग्रह छ।’
संविधानअनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउन आफूले पार्टीभित्र आवाज उठाइरहेको भन्दै उनले अरू राजनीतिक दलहरूले पनि सरकरालाई घचघचाउन आवश्यक रहेको उल्लेख गरे।
निधिले प्रदेशलाई अधिकार सुम्पिन ढिलाइ भए फेरि आन्दोलन हुनसक्ने चेतावनी दिए। उनले भने,‘अधिकार नपाएर प्रदेश सरकारहरू काम गर्न पाएका छैनन्। चाँडै अधिकार प्रत्यायोजन नभए फेरि आन्दोलन हुनसक्छ। यो आन्दोलनको कांग्रेसले नै नगर्ला भन्न सकिँदैन।’
संघीयता र प्रादेशिक संरचनाको अनुभूतिका लागि संघीयत सरकारले यथाशीघ्र कानुन बनाएर प्रदेशलाई मजबुत बनाउनुपर्नेमा उनको जोड थियो।