काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफू संघीयता विरोधी नभएको भन्दै संघीय संरचनालाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुनसरी घटनालगायत पछिल्ला विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेशकेन्द्रित राजनीतिक दलका नेताहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले संघीयताप्रतिको आफ्नो धारणा प्रस्ट पारेका हुन्।
बैठकमा सहभागी नेताहरूले प्रदेश सरकारलाई पर्याप्त अधिकार नदिँदा तथा सुरक्षा संयन्त्र प्रदेशअन्तर्गत नहुँदा यस्ता घटनाको प्रभावकारी व्यवस्थापनमा समस्या भएको धारणा राखेका थिए। त्यसपछि प्रधानमन्त्री शाहले संघीयता र प्रदेशको भूमिकाबारे आफ्नो धारणा व्यक्त गरेका थिए।
बैठकपछि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने,‘मलाई संघीयता विरोधी भनेर सपनामा पनि नसोच्नुस्। प्रदेशलाई बलियो बनाउने हो। संरचनामा सुधार गर्ने कुरा मात्र गरेको हुँ। हाम्रो पार्टी संघीयताविरोधी होइन अझ बलियो संघीयता निर्माण गर्ने पक्षमा छ।’
महतोका अनुसार प्रधानमन्त्रीले आफ्नो नेतृत्वका कारण संघीय व्यवस्थामा कुनै खतरा नहुने विश्वास पनि दिलाएका थिए।
हाल भएका सबै सहमति र सम्झौता कार्यान्वयन गर्ने तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि बैठकमा प्रदेश सरकारलाई थप अधिकार दिनुपर्ने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको जानकारी दिए।
‘हामी सरकारलाई असफल बनाउन खोजेका होइनौं। सरकार दुर्घटनामा नजाओस् भन्ने हाम्रो चाहना हो। त्यसैले संघीयतालाई अझ बलियो बनाउनुपर्छ भन्ने सुझाव दिएका हौं,’ राउतले भने।
उनले प्रदेश प्रहरीको व्यवस्था भएको भए स्थानीय भाषा, समाज र परिस्थितिको राम्रो बुझाइ हुने भएकाले यस्ता घटनाको व्यवस्थापन अझ प्रभावकारी हुन सक्ने धारणा पनि राखे।
राउतले नेपाली सेनामा मधेशी समुदायको सामूहिक प्रवेशका लागि विशेष अवसर सिर्जना गर्नुपर्ने सुझावसमेत प्रधानमन्त्रीसमक्ष राखिएको बताए।
छलफलमा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता थिए।


