मरिन कोर बलको वार्षिकोत्सव मनाउन अमेरिकी जनरल काठमाडौँमा

हिमाल प्रेस २४ कार्तिक २०८१ ११:४८
42
SHARES
मरिन कोर बलको वार्षिकोत्सव मनाउन अमेरिकी जनरल काठमाडौँमा

काठमाडौँ- अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल तथा इन्डो-प्यासिफिक कमान्डका उपकमान्डर जसुआ एम रड चारदिने औपचारिक भ्रमणको क्रममा शुक्रबार काठमाडौँ आएका छन्। उनलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीले स्वागत गरेका थिए।

लेफ्टिनेन्ट जनरल रड अमेरिकामा राष्ट्रपति निर्वाचन परिणामपछि नेपाल आए पनि भ्रमण तालिका पहिल्यै तय भइसकेको थियो। उनको भ्रमणलाई लिएर कतिपयले डोनाल्ड ट्रम्पको विजयीसँगै इन्डो प्यासिफिक कमान्ड सक्रिय भनेर टिप्पणी गरेका छन्। काठमाडौँस्थित अमेरिकी दूतावासका अधिकारीहरूले  यो भ्रमण तीन महिनाअघि नै तय भएको स्पष्ट पारेका छन्।

लेफ्टिनेन्ट जनरल रड शनिबार मनाइने अमेरिकी मरिन कोर बलको २४९ औँ वार्षिकोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन्। फोहोरा दरबारमा अमेरिकी मरिन फोर्सको सानाे हिस्सा रहँदै आएको छ। यसले नेपाली सेनाको रेन्जरसँग तालिममा सहकार्य गर्छ।

रडले प्रधानसेनापति अशोकराज सिग्देलसँग शिष्टाचार भेट गर्ने र समकक्षीसँग दुईपक्षीय वार्ता गर्ने कार्यतालिका छ। उनले राजनीतिक भेटघाट पनि गर्ने बताइएको छ।  अमेरिकी दूतावासले उनले कोकोसँग भेट गर्ने भनेर केही खुलाएको छैन।

लेफ्टिनेन्ट जनरल रड वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखाल र शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको समेत भ्रमण गर्नेछन्। उनी जंगीअड्डा र छाउनी अस्पताल पनि पुग्नेछन्।

मौसमले साथ दिए उनी माउन्टेन फ्लाइटमा पनि जाने कार्यक्रम छ। नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार अमरिकी सैन्य उपकमान्डर मरिन फोर्सको वार्षिकोत्सव बनाउन आएका हुन्। ती अधिकारीले भने, ‘हामीलाई समेत नियाल्ने एसिया प्यासिफिक कमान्डको लेफ्टिनेन्ट जनरल हुँदा नेपाली सेनाले भ्रमणलाई औपचारिकता दिएको हो।’

अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरूप स्काई ट्रक र हेलिकप्टर दिँदै आएको छ। त्यस्तो सहयोग फेरि दिने बताएपछि थप सैन्य भ्रमण भएको जंगीअड्डाले जनाएको छ। अमेरिकासँग नेपाली सेनाको एउटा महत्त्वपूर्ण रक्षा साझेदारी रहेको छ। दुई मुलुकबीच सन् १९७० को दशकबाट सैन्य सम्बन्ध सुरु भएको हो। नेपालले अमेरिकी सेनासँग अन्य छिमेकी र मुलुकलाई असर नगर्ने गरी आफ्नो सीप र क्षमता वृद्धिमा सहकार्य गर्दै आएको छ।

अमेरिकी परराष्ट्र  मन्त्रालय र रक्षा मन्त्रालयले नेपाली सेनासँग सुरक्षा सहकार्य गरिरहेका छन्। नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास मात्र होइन एकअर्का मुलुकमा अध्ययन गर्न जाने, प्रशिक्षण लिने काम पनि भइरहेको छ।

अमेरिकाले नेपाली सेनाको स्तराउन्नतिका लागि भन्दै एक दशकमा १० करोड डलरभन्दा बढीको सैन्य सहयोग उपलब्ध गराइसकेको छ। नेपाललाई थप स्काइट्रक र हेलिकप्टर दिने तयारी अमेरिकाको छ। अमेरिकाले दिने सहयोग नेपालको मानवीय र विपद् प्रतिकार्य तथा शान्ति सैनिकको क्षमता अभिवृद्धिमा केन्द्रित रहँदै आएको छ।

इन्डो प्यासिफिक कमान्ड के हो?

अमेरिकी सेना अमेरिका सशस्त्र बलको स्थल सेना सेवा शाखा हो। यो आठ अमेरिकी बर्दीधारी सेवाहरूमध्ये एक हो। यसलाई अमेरिकी संविधानमा संयुक्त राज्यको सेना भनिएको छ। अमेरिकी सैन्य सेवाको सबैभन्दा पुरानो शाखा र सबैभन्दा वरिष्ठ पनि यही हो। यसको गठन ब्रिटिसविरुद्ध लड्न १४ जुन १७७५ मा भएको हो।

युद्धपछि कन्फेडेरेसनको कांग्रेसले ३ जुन १७८४ मा विघटित महाद्वीपीय सेनालाई प्रतिस्थापन गर्न संयुक्त राज्य अमेरिकी सेना सिर्जना गरेपछि कमान्डअन्तर्गत गए पनि यूएस प्यासिफिक कमान्ड भने १९४७ मा गठन भएका हो। त्यही यूएस प्यासिफिक कमान्ड सन् २०१८ मा इन्डो प्यासिफिक कमान्ड बनेको हो।

अमेरिकी सेनाको युनिफाइड कम्ब्याटेन्ट कमान्ड हो इन्डो प्यासिफिक कमान्ड। यो इन्डो प्यासिफिक क्षेत्रप्रति उत्तरदायी छ। यसलाई अमेरिकी सेनाको पुरानो र ठूलो युनिफाइड कमान्ड मानिन्छ। यो कमान्डले पृथ्वीको ५२ प्रतिशत क्षेत्र नियाल्ने यसको वेबसाइटमा उल्लेख छ।

इन्डो प्यासिफिक कमान्ड ३६ मुलुकमा फैलिएको छ। यसले एसिया प्रशान्त क्षेत्रको २६ करोड वर्गकिलोमिटर क्षेत्रफलमा सैन्य अपरेसन चलाउने अधिकार र उत्तरदायित्व राख्छ। कमान्डले अमेरिकाको पश्चिमी सामुद्रिक तटदेखि भारतीय सामुद्रिक तट हुँदै आर्टिक र अन्टार्टिक क्षेत्र घेर्दै आएको छ।

यो कमान्डमा यूएस आर्मी, मरिन फोर्स, यूएस फ्लिट, एयर फोर्स, यूएस फोर्स जापान, यूएस फोर्स कोरिया, स्पेसल अपरेसन कमान्ड कोरिया र स्पेसल अपरेसन कमान्ड प्यासिफिक सम्मिलित छन्। यसको मुख्यालय हवाईमा छ।

प्रकाशित: २४ कार्तिक २०८१ ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast