काठमाडौँ- अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो अपेक्षाविपरीत राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएको प्रतिक्रिया दिएका छन्। ओबामाले ट्रम्पलाई बधाई दिँदै यस्तो प्रतिक्रिया व्यक्त गरेको बीबीसीले जनाएको छ।
राष्ट्रपति चुनावको नतिजापछि पूर्वराष्ट्रपति ओबामाले भने, ‘यो नतिजा हाम्रो आशाअनुसार होइन। थुप्रै मुद्दामा ट्रम्पसँग हाम्रो गहिरो मतभेद छ। लोकतन्त्रको अर्थ यही हो कि हाम्रो सोच सधैँ सही हुन सक्दैन र सत्ता हस्तान्तरणका लागि शान्तिपूर्वक तयार रहनुपर्छ।’
ओबामा र पत्नी मिसेलले डोनाल्ड ट्रम्प र उपराष्ट्रपति पदका उम्मेदवार जेडी वेन्सलाई बधाई दिएका छन्। ओबामा दम्पतीले नतिजाबारे प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘चुनावमा लाखौँ अमेरिकी जनताले मात्र राष्ट्रपति होइन, एक नेता चुन्ने मत दिएका छन्। अब नतिजा आएको छ र हामी राष्ट्रपति डोनाल्ड ट्रम्प र सिनेटर जेडी वेन्सलाई बधाई दिन्छौँ।’
डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसप्रति ओबामा दम्पतीले गर्व गरेका छन्। उनीहरूले भनेका छन्, ‘हामीलाई कमला ह्यारिस र टिम वाल्जमाथि गर्व छ। यी दुई असाधारण जनसेवक हुन्। जसले उत्कृष्ट अभियान चलाए।’
महामारी र त्यसपछि उत्पन्न महँगीजस्ता समस्याबाट अमेरिका पनि यसबाट अछुतो नरहेको ओबामाको भनाइ छ। उनले भने, ‘एकअर्कालाई सुन्ने र ती सिद्धान्तहरूको पालना गर्ने काम भएमा यी समस्या समाधान गर्न सकिन्छ।’
ओबामाले अमेरिकाजस्तो विशाल र विविधतापूर्ण देशमा सबै कुरा एकमतमा हुन नसक्ने बताएका छन्। उनले असहमत पक्षसँग पनि सद्भाव र नम्रताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।