म मरेको पल

कमल भण्डारी १५ कार्तिक २०८१ १०:४२
46
SHARES
म मरेको पल

म पेसाले सरकारी कर्मचारी। अहिले शिक्षा मन्त्रालयअन्तर्गत उपसचिवमा कार्यरत छु। शाखा अधिकृत भई जागिर खाएको पनि २० वर्ष पुग्नै लाग्यो। मेरी पत्नी प्रशासनअन्तर्गत अधिकृत।

पढ्नमा म तेजै थिएँ, सरकारी जागिरमा प्रवेश गरेँ। जागिरको प्रकृतिअनुसार विभिन्न जिल्ला, शाखा अनि मन्त्रालयसम्मको जिम्मेवारी वहन गर्दैछु। मलाई चल्तापुर्जा कर्मचारी भनेर चिन्ने धेरै छन्। सबैसँग सम्बन्ध राम्रै बनाएको छु। यही सम्बन्ध राम्रो बनाउने क्रममा चल्तापुर्जा नै भइयो। खाजापानी, नास्तापानी भन्ने भाषासँग अभ्यस्त भइयो अनि यसो साँझको रमाइलो, हात मोल्ने अनि धूमपानलगायत मद्यपान सामान्य नै भयो।

घरव्यवहार चलाउन मैले तलब चलाउनु पर्दैन। काठमाडौँको केन्द्रमै घर बनाएको छु। दैनिकी यसै चलिरहेको छ। मेरो बानी न पत्नीलाई मनपर्छ न त आमालाई, र पनि सम्बन्ध विस्तार गर्नैपर्‍यो, साथीभाइ राख्नैपर्‍यो अनि घरव्यवहार।

सबै कर्मचारीले जस्तै यसो चाँजोपाँजो मिलाएर चलाउनैपर्‍यो। आखिर जसले जे भने पनि हल्काफुल्का चाँजोपाँजो नमिलाई कसैको चलेको पनि त छैन तैपनि यो धूमपान–मद्यपान नगर्नु भन्ने बारम्बार पत्नीको आग्रह र आमाको निर्देशनात्मक मायालाई मैले सम्बोधन गर्नचाहिँ सकिनँ। बरु हरेक साँझ जुट्ने अवस्था खोजिराखेँ। यस्तै चल्दै रह्यो जिन्दगी।
……
अस्पताल परिसर अनि म मरेको मान्छे, शव। हँ, म त लमतन्न सुतिरहेको छु। अनि मेरो वरिपरि मेरी पत्नी, मेरा छोराछोरी र बूढीआमा रोइरहेका छन्। ‘हे भगवान्! के भयो यस्तो?’

आमा भन्दै हुनुहुन्छ, ‘बरु म मरेको भए हुन्थ्यो, मलाई लैजाऊ प्रभु मेरो छोरोलाई यति चाँडै किन लग्यौ?’ पत्नी चिच्याउँदै छिन्, ‘के भयो यस्तो? मैले के गल्ती गरेकी थिएँ? मलाई किन यति सारो बज्रपात दियौ भगवान्।’

छोराछोरी छेउमै बसेर रोइरहेका छन्। वरिपरि आफन्त। कोही ‘जँड्याहा–घुस्याहा ४२ वर्ष नि नपुगी मर्‍यो, कोटा पुगेछ’ भन्छन्। कोही ‘मान्छे जे भए नि सहयोगी नै थियो, खान केही बाँकी राखेन, अकालमै मर्‍यो बिचरा!’ भन्छन्। कोही ‘हैन, यो मरिसक्यो अब शववाहन बोलाएर आर्यघाट लानुपर्छ’ भन्दैछन्।

आमा छाती पिटीपिटी रोइराख्नुभएको छ। पत्नी लगभग बेहोसजस्तै भइसकिन्। भाइ छेउमा रोएर बसिराखेको छ। अरू सम्झाउँदै छन्, ‘अब यो सबै मिलाउने काम तेरो हो। तैँले रोएर हुँदैन। ११ बर्से छोरी आमालाई सुमसुम्याउँदै आफू पनि रुँदैछे। म शव!

छोरो सानै छ भर्खर त सात वर्ष पुग्यो। ऊ अरू रोएको देखेर अनुहार हेर्दै रुन्छ अनि मलाई छुन्छ अनि भन्छ, ‘बाबा! बाबा!!’ फेरि रुन्छ, ‘उठ्नुस् न’ भन्छ।
पत्नी कहिले आफ्नो छाती पिट्दै कहिले मलाई सुमसुम्याउँदै ‘उठ्नुस् न केही भएको छैन हजुरलाई केही भएको छैन म बचाउँछु, म छु म बचाउँछु’ भन्दै अर्धचेत अवस्थामा बर्बराउँदैछिन्।

आमा पनि आफ्नो छाती पिट्दै अर्धचेत भइसक्नुभयो। हे भगवान्! म कसरी शव? म कसरी मरेँ? मेरो मृत्यु कति विडम्बना भयो, कतिलाई चोट पुग्यो। म जल्ने तयारी गरिराखेको छु। वरिपरि धुपबत्ती बालेर अनि एउटा हरे राम हरे कृष्ण लेखेको पहेँलो वस्त्र ओडाएर हरियो बाँस र बाबियोको डोरीले बाँध्दैछन्। त्यसमा राखेर लाने तयारी गर्दैछन्।

छोरा ‘मेरो बाबालाई के भयो भनेर’ सोध्दैछ। छोरो आमा रोएको हेर्छ, हजुरआमा रोएको हेर्छ। दिदी रोएको हेर्छ। अनि रुन्छ अनि मलाई सुमसुम्याउँछ। फेरि सोध्छ, ‘के भएको?’ अनि फेरि रुन्छ। अब घाट लानुपर्छ भन्दैछन्।

म जल्ने तयारी गर्दैछु। म जल्दैछु म जल्दैछु म सशरीर जल्दैछु तर आफू मर्न नसकेको पीडामा आफूभन्दा अगाडि छोरो मरेको पीडामा आमा मभन्दा बढी जल्दै हुनुहुन्छ अनि पत्नी मर्दैछे, ऊ साथ छुटेको विलाप गर्दैछे। अब सबै व्यवहार धान्नु छ, सोच्नै भ्याएकी छैन होला, अत्तालिएकी छे। अनि भन्दै छे, ‘म पनि मर्छु। मलाई पनि लैजाऊ। छोराछोरी टुहुरा भए।’

छोराछोरी के गर्ने के भन्ने व्यक्त गर्न सकिराखेका छैनन्। बाबा! बाबा!! भन्दै कहिले चिच्याएर रुन्छन्। कहिले अर्धचेत हुन्छन्। कहिले आमालाई सुमसुम्याउँछन् अनि कहिले मलाई सुमसुम्याउँछन् बाबा! बाबा!! भन्दै बोलाउँछन्। म जल्ने तयारी गरिरहेको छु। हे भगवान्! यो मैले के गरेँ? मैले अकाल मृत्यु आफैँ तय गरेँ।
…….
ओहो आँखा लागेछ। निदाएछु पनि कहाँ आइपुगेँ? ए म त नेपालगन्जको बस पो चढेको थिएँ। बसपार्क आइपुगेछु जसै म ब्युँझिएँ बेलुका लिएको एक फुल ह्विस्की र एक बट्टा चुरोटमध्ये आधाभन्दा बढी रक्सी र १२ वटा चुरोट बसमै सकाइसकेछु।

ओहो! यो यात्रा त डाक्टरले बाँच्ने भए अन्तिम विकल्प भनेपछि मेरो यो धूमपान अनि मद्यपान छुटाउने प्रण गर्नलाई पो थियो त। छेउमा लागेँ, यसो हेरेँ र मनमनै प्रण गरेँ अब आजदेखि यो रक्सी, खैनी र चुरोट यही छोड्छु र म अब तत्काल मर्न चाहन्नँ, जल्न चाहन्नँ र आफ्नो आदत सुधार्छु र कम्तीमा म आमालाई चाँडै मरेर रुवाउँदिनँ र छोराछोरीलाई टुहुरो बनाउँदिनँ, पत्नीलाई साथ छुटाउँदिनँ र एउटा सुखी परिवार निर्माणमा लाग्नेछु। सकेसम्म देशसेवा गर्ने उद्देश्य राख्नेछु।

अबचाहिँ साँच्चै कर्मचारीभन्दा पनि राष्ट्रसेवक कर्मचारी बन्ने असल प्रयासमा लाग्नेछु। र ५ वर्षपछि फर्केर हेर्दा असल कर्मचारी बन्न सकेँ-सकिनँ पछि समीक्षा गरौँला तर शोकयात्राले धूमपान र मद्यपान त्यागेर स्वस्थ जीवन बाँचिरहेको छु। जय परिवार! जय देश!!

प्रकाशित: १५ कार्तिक २०८१ १०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =